सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू रक्षाबन्धनका अवसरमा आयोजित विविध कार्यक्रमहरूमा सरिक

श्रावण २७ गते, काठमाडौँ ।

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले धार्मिक तथा सांस्कृतिक पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज राष्ट्रपति भवन‚ महाराजगञ्जमा आयोजित विविध कार्यक्रमहरूमा सहभागिता जनाउनुभयो । महत्वपूर्ण सांस्कृतिक पर्वको उक्त अवसरमा राष्ट्रपतिले वैदिक विधिअनुरूप पं. खेमचन्द्र ढकालबाट रक्षा बन्धन ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवनमा आयोजित अर्को कार्यक्रममा  सम्माननीय राष्ट्रपतिज्यूले काठमाडौँका राजोपाध्याय ब्राह्मण समुदायको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणीकर्ममा स्थापना गरिएको राजकलशको अभिषेक तथा प्रसाद समेत ग्रहण गर्नुभएको छ । श्रावणीकर्म यज्ञ सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलशबाट राष्ट्राध्यक्षलाई अभिषेक तथा रक्षा बन्धन गर्ने परम्परा रहे बमोजिम मुलुकमा गणतन्त्रको स्थापनापछि राजकलशको अभिषेक राष्ट्रपतिबाट नै ग्रहण गर्ने प्रचलन स्थापित भएको छ ।

यसैगरी राष्ट्रपतिज्यूले आजै ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र, काठमाडौँका निर्देशक ब्रम्हकुमारी राजदीदीबाट पवित्रताको सूचक राखी समेत ग्रहण गर्नुभयो ।

रक्षाबन्धन एवं जनै पूर्णिमा पर्व देशभरका धार्मिक स्थलहरूमा विशेष पूजा आराधनासहित मनाउने परम्परा रहिआएको छ । आरोग्य, शान्ति र सुरक्षाको प्रतीकका रूपमा यस पर्वको सांस्कृतिक महत्व स्थापित छ ।