सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गणतन्त्र दिवस, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

गणतन्त्र दिवस, २०७९ को शुभकामना सन्देश

१५औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनको अगुवाइ गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी जनसमुदाय‚ नागरिक समाज एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्दछु ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनास्वरूप हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौं । वंश परम्परामा आधारित शासन व्यवस्थालाई जनतामा निहित सार्वभौम सत्ताको प्रयोगमार्फत जनताले नै छानेका प्रतिनिधिबाट सञ्चालन हुने प्रणालीमा रूपान्तरण गर्नु हाम्रो गणतन्त्रको मूलभूत विशेषता रहेको छ । जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्र सहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु हाम्रो गणतन्त्रको वास्तविक कार्यभार हो ।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई समाजको गहिराईसम्म संस्थागत गर्ने हाम्रो संविधानले परिकल्पना गरेबमोजिम गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यसबाट गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एवं राजनीतिक जीवन पद्धतिका रूपमा क्रमश: विकास भइरहेको छ । नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा‚ स्वास्थ्य‚ खाद्य सुरक्षा, खानेपानी‚ सरसफाई‚ वातावरण संरक्षण लगायतका आधारभूत अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै समाजवाद उन्मुख आर्थिक प्रणाली  निर्माण गर्न गणतन्त्र दिवसले हामी सबैलाई थप उत्साह प्रदान गर्ने विश्‍वास लिएको छु ।

अन्तमा‚ आजको यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता‚ राष्ट्रिय सार्वभौमिकता‚ स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्याय सहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने अपेक्षा सहित पुन: हार्दिक शुभकामना व्यक्त गर्दछु

धन्यवाद ।

२०७९ जेठ १५ गते आइतबार ।