सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रममा गर्नु भएको सम्बोधन

माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री,

आज पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरू,

राष्ट्रसेवकहरू,

सञ्चारकर्मीहरू,

भद्र महिला तथा सज्जनवृन्द ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आयोजित ‘राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रम’मा सहभागी भई सूचना तथा सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने अवसर पाउँदा मलाई खुसी लागेको छ । पत्रकारिताको माध्यमबाट समाज र राष्ट्रका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने वरिष्ठ सञ्चारकर्मीहरूलाई पुरस्कार एवं सम्मान प्रदान गर्ने यो कार्यक्रम आयोजना गरेकोमा सञ्चार तथा तथा सूचना प्रविधि मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु । साथै‚ कार्यक्रममा उपस्थित हुनु भएका सबैलाई राष्ट्रपति कार्यालयमा म हार्दिक स्वागत गर्दछु ।

अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन । जिम्मेवार पत्रकारिता‚ सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका अपरिहार्य तत्व हुन् । नेपालको संविधानले प्रत्येक नागरिकका लागि सूचना र सञ्चारको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । यसबाट अभिव्यक्तिको स्वतन्त्रता संस्थागत हुनुका साथै सार्वजिनक सरोकारका कुनै पनि विषयमा सूचना प्राप्त गर्ने नागरिक अधिकारको प्रत्यभूति भएको छ । संविधान प्रदत्त मौलिक हकलाई आधार मानेर हाम्रो मुलुकमा पूर्ण प्रेस स्तन्त्रता अक्षुण्ण रहने परिवेश निर्माण भएको छ ।

नेपाली प्रेस जगतले जनसरोकारका सबैजसो विषयमा नागरिकलाई सुसूचित गराउँदै सार्वजनिक सेवा प्रदायकलाई जनताका आवश्यकताको बारेमा पृष्ठपोषण प्रदान गरी सञ्चार सेतुको रूपमा काम गरिरहेको छ । बाढी‚ पहिरो‚ भूकम्प‚ डढेलो एवं कोभिड–१९ महामारी जस्ता विपत्‌को समयमा आम जनतालाई सचेत र सतर्क बनाउनुका साथै सही सूचना सम्प्रेषण गरी राज्यका जिम्मेवार निकायलाई उपयुक्त प्रतिकार्य रणनीति निर्माणका लागि समेत पत्रकारिता क्षेत्रले महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको छ ।

त्यसैगरी‚ शिक्षा‚ स्वास्थ्य‚ स्वच्छ खानेपानी‚ सरसफाई‚ वातावरण संरक्षण जस्ता आम सरोकारका विषयमा सचेतना अभिवृद्धि गर्नुका अतिरिक्त समाजमा विद्यमान अन्धविश्वास‚ कुसंस्कार‚ कुरीति‚ जातीय एवं लैङ्गिक विभेद आदिका विरुद्धमा जनचेतना अभिवृद्धि गर्दै सकारात्मक सामाजिक रूपान्तरणका लागि समेत सञ्चार जगतले उल्लेखनीय योगदान गर्दै आएको छ ।

पत्रकारिता क्षेत्रले समाजमा रहेका विकृति-विसंगतिलाई उजागर गर्नुका साथै राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरूलाई ओझेलबाट प्रकाशमा ल्याउन समेत भूमिका खेलिरहेको हुन्छ । यस क्रममा मुलुकको हित, राष्ट्रिय स्वाभिमानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण सञ्चार जगतको मुख्य अभीष्ट हुनुपर्दछ । पत्रकारको हातमा रहेको कलमबाट कसैमाथि अन्याय हुनुहुँदैन भन्ने पक्षलाई विशेष आत्मबोधका साथ कार्यान्वयन गर्न म सबैमा हार्दिक आव्हान गर्दछु ।

सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौति बनिरहेको छ । सामाजिक सञ्जालको व्यापकताका कारण सूचना प्रवाह गर्ने पहुँच अब पत्रकारिताको औपचारिक क्षेत्रभन्दा धेरै विस्तार भएको छ । हरेक नागरिकलाई अभिव्यक्तिको बलियो वैकल्पिक माध्यम उपलब्ध हुँदा सामाजिक सशक्तीकरणमा बल पुग्दछ । यद्यपि सूचनाको वास्तविकता, सत्यको जाँच तथा प्रमाणको पुष्टि हुनुपर्ने जस्ता पत्रकारिताका आधारभूत मान्यतालाई सञ्चारका नयाँ माध्यमले खण्डित गरिदिएको छ । तसर्थ‚ आजको सञ्चार जगतले आफ्नो स्थायित्व सुदृढ गर्न सृजनात्मक उपायहरू अवलम्बन गर्नु पर्ने आवश्यकता अझ बढ्दै गएको छ ।

राज्यको चौथो अङ्गको रूपमा समाजले सम्मान प्रदान गरेको हुनाले जिम्मेवारीपूर्ण‚ सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र पत्रकारिता क्षेत्रको विश्वसनीयता कायम राख्न सकिन्छ  भन्ने मलाई लाग्दछ ।

यसबेला हामी स्थानीय निर्वाचनको संघारमा उभिएका छौं । आवधिक निर्वाचनमार्फत जनताले छानेका प्रतिनिधिबाट विधिको शासन सञ्चालन हुनु नै लोकतान्त्रिक प्रणालीको आधारभूत मान्यता हो । तसर्थ‚ आसन्न स्थानीय निर्वाचनलाई स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाली प्रेस जगतले निष्पक्ष सूचना सम्प्रेषणको माध्यमबाट योगदान गर्नु पर्दछ ।

आज यस कार्यक्रमा सम्मानित र पुरस्कृत हुने सबैमा हार्दिक बधाई ज्ञापन गर्दै सबैमा सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

अन्तमा‚ जिम्मेवार पत्रकारिताको माध्यमबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यवहारिक रूपमा साकार तुल्याउने काममा थप उत्साह प्राप्त हुने विश्‍वास व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७९ साल वैशाख २४ गते शनिबार ।