सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्व मानव अधिकार दिवस (१० डिसेम्बर २०१८) का अवसरमा दिनुभएको शुभकामना सन्देश

७० औं विश्‍व मानव अधिकार दिवस मनाउन लागिएको यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्वन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्‍चिता गरेको छ । मानव अधिकारको कार्यान्वयनको लागि विभिन्‍न निकायहरुको व्यवस्था भएको छ । तिनका सकृय कार्य सम्पादनबाट मानव अधिकारको प्रत्याभूतिको आभास सबैले गर्ने छन् भन्‍ने मलाई लाग्छ । त्यसैले श्रोत साधन लगायत आवश्यक कुराहरुको व्यवस्था गर्दै मानव अधिकारको प्रत्याभूति गर्न सबै क्षेत्रहरु क्रियाशिल हुन आवश्यक भएको छ ।

मानव अधिकारका सिद्धान्तहरु सर्वव्यापि भएतापनि तिनको कार्यान्वयन राज्यका सीमानाभित्र नै हुन्छन् । सवल, सक्षम र राष्ट्रिय एकता सुदृढ भएको लोकतान्त्रिक राष्ट्रमा नै मानव अधिकारको प्रत्याभूति हुन सक्छ भन्नेमा पनि हाम्रो ध्यान जान आवश्यक छ ।

मानव अधिकारको सिद्धान्तलाई आमजनतासमक्ष पुर्‍याउन हाम्रो शिक्षा प्रणालीमा मानव अधिकार शिक्षा समावेश गर्नेतर्फ सम्बन्धित निकाय लाग्नु पर्दछ ।

अन्तमा, यस दिवसले मानव जातिका साझा अधिकारहरु प्रत्याभूति गर्न संलग्न हुनुहुने सबैलाई सफलता र यस क्षेत्रमा काम गर्न थप उर्जा मिलोस् भन्‍ने कामना गर्दछु ।

धन्यवाद !

२०७५ साल मंसिर २४ गते सोमबार