सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नमोबुद्ध नगरपालिकास्थित पुनर्निर्मित काली मन्दिरको समुद्‍घाटन समारोहमा गर्नुभएको सम्बोधन

माननीय प्रतिनिधि सभाका सदस्यहरू,

माननीय प्रदेशसभाका सदस्यहरू‚

नगर प्रमुख तथा स्थानीय जनप्रतिनिधिहरू,

मन्दिर व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरू,

राष्ट्रसेवक कर्मचारीहरू‚

सञ्चारकर्मीहरू‚

उपस्थित भद्रमहिला तथा सज्जनवृन्द ।

सांस्कृतिक तथा पुरातात्विक सम्पदाले सम्पन्न नमोबुद्ध नगरपालिकामा पुनर्निर्मित ऐतिहासिक काली मन्दिरको उद्‍घाटन  समारोह आयोजना गरी तपाईँहरूसँग अन्तरक्रिया गर्ने यो अवसरका लागि म सम्पूर्ण नगरपालिका परिवारलाई धन्यवाद दिन चाहान्छु । विश्‍व शान्तिका प्रवर्तक भगवान बुद्धको नामबाट सुशोभित भएको यस नगरपालिकाले आफ्नो सांस्कृतिक तथा ऐतिहासिक गौरव कायम राख्न पहल गर्दै आएकोमा पनि म सराहना गर्दछु ।

विक्रम संवत् २०७२ सालको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त काली मन्दिरको पुनर्निर्माण गरी संरक्षण तथा संवर्द्धन गर्न नगरपालिकाले देखाएको अग्रसरता प्रशंसनीय छ । भूकम्पले भत्काएका सम्पदाहरू अझ बलियो र स्थायी रूपमा पुनर्निर्माण हुँदा ऐतिहासिक धरोहरहरूको संरक्षण गर्ने हाम्रो राष्ट्रिय आत्मविश्वास पनि अझ बलियो भएको छ ।

स्थानीय तहमा जनताद्वारा छानिएका जनप्रतिनिधिबाट विकासका कार्यहरू सञ्चालन भई जनताका दैनिक आवश्यकताहरूको प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्रलाई संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम हो  । यसै कारण, नेपाली जनताको ठूलो त्याग र बलिदानको फलस्वरूप निर्माण भएको वर्तमान संविधानले जनतालाई प्रदान गरिने सेवा र सुविधामा सहज पहुँचको माध्यमबाट आर्थिक–सामाजिक रूपान्तरण हासिल गर्न स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ । संविधानको यस भावनालाई आत्मसात गरी प्रत्येक जनप्रतिनिधिले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नु पर्दछ । नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा गुणस्तरीय शिक्षा, सामुदायिक विद्यालयका बालबालिकाका लागि दिवा खाजा, पर्यटन तथा कृषि क्षेत्रको उन्नयनमा निरन्तर  काम गरिरहेको थाहा पाउँदा मलाई खुसी लागेको छ ।

स्थानीय तहमा भौतिक निर्माण र पूर्वाधार विकासलाई  प्राथमिकतामा राख्दा हामीले प्रकृतिको संरक्षण गरी वातावरण जोगाउने कार्यलाई विशेष महत्व दिनुपर्दछ । हरियाली प्रवर्द्धन गर्ने, पानीका मूलहरू बचाउने एवं जैविक विविधताको रक्षा गर्ने कार्यबाट मात्र हामीले यस सुन्दर धर्तीलाई भावी पुस्ताका लागि समेत  सुरक्षित बनाउन सक्दछौं ।

यस अवसरमा म स्थानीय तहका प्रतिनिधिहरूका साथै सम्बद्ध सबै पक्षमा विकाससम्बन्धी नीति‚ कार्यक्रम तथा  योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्ने सुदृढ संकल्पका लागि विशेष आव्हान गर्न चाहन्छु । यसका साथै नागरिकलाई  शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी एवं सरसफाई जस्ता आधारभूत सेवाहरू सरल र सहज रूपमा उपलब्ध गराउने विषय सबैको गम्भीर सरोकार बन्नुपर्छ भन्ने मलाई लागेको छ ।

यस नमोबुद्ध क्षेत्रमा पर्यटन विकासको प्रशस्त सम्भावना रहेको विषय हामी सबैको जानकारीमा छ । छिमेकमा अवस्थित मुलुककै राजधानी काठमाडौँ वा अझ नजिकको धुलिखेललाई गन्तव्य बनाउने पर्यटकको केही संख्यालाई मात्र पनि यहाँ भित्र्याउन सके स्थानीय समुदायको जीवनस्तर माथि उठाउन ठूलो मद्दत पुग्नेछ । दाप्चा र नमोबुद्ध क्षेत्रलाई विश्‍वसम्पदा सूचीमा सामेल गर्न तपाईंहरूले लामो समयदेखि गरिरहनु भएको प्रयासबाट यहाँको पर्यटनलाई थप बल प्राप्त हुनेछ भन्ने मलाई लागेको छ । विश्‍वसम्पदा सूचीमा सामेल हुन आवश्यक पूर्वाधारको निर्माणमा तपाईंहरूको प्रयास फलदायी हुने मैले अपेक्षा लिएको छु । यस कार्यमा सफलताका लागि तपाईंहरूलाई मेरो सदैब सहयोग र शुभकामना रहेको छ ।

अन्तमा, यो कार्यक्रम आयोजना गरी सांस्कृतिक धरोहरको संरक्षण तथा संवर्द्धन गर्न अग्रसरता लिने पुरातत्व विभाग, नगरपालिका परिवार एवं स्थानीय जनसमुदाय सहित सबैलाई धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।

२०७८ साल चैत्र १६ गते बुधबार

नमोबुद्ध, काभ्रेपलाञ्चोक