सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले चिकित्सा शास्त्रतर्फ एमबीबीएस सहितका शैक्षिक कार्यक्रम आरम्भ गरेको अवसरमा गर्नुभएको सम्बोधन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भई यस क्षेत्र र मुलुककै लागि आवश्यक विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मी उत्पादन गर्ने उद्देश्य लिएर मेडिकल शिक्षा प्रारम्भ भएको अवसरमा आयोजित यस कार्यक्रममा सहभागी हुन पाउँदा मलाइ खुसी लागेको छ । यहाँका मेधावी विद्यार्थीहरूले आफ्नै घर आँगनमा उच्च स्तरीय मेडिकल शिक्षा अध्ययन गर्न पाउनुपर्छ भनी तपाईंहरूले लामो समयदेखि देखेको सपना र गरेको प्रयास सार्थक भएकोमा म तपाईंहरूलाई हार्दिक बधाई दिन चाहन्छु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्न सहयोग गर्ने कर्णालीवासी जनता, सम्पूर्ण विद्वत समुदाय, प्राज्ञिक जगत, समाजसेवी, नेपाल सरकार र सम्बद्ध संघसंस्थालाई धन्यवाद एवं बधाई दिन चाहन्छु ।  प्रतिष्ठानको स्थापना गरी कर्णालीले एउटा इतिहास निर्माण गरेको छ । अब यसमा  प्रगतिका नयाँ अध्यायहरू क्रमशः थपिँदै जानेछन् ।

हाम्रो मुलुकमा कर्णाली प्रदेशको विशिष्ट पहिचान स्थापित छ । देशको विविधतायुक्त समाजलाई भावनात्मक रूपमा समेत थप सुदृढ तुल्याउँदै विश्वसामू हाम्रो मौलिकता प्रवद्र्धन गरिरहेको नेपाली भाषाको जननी नै गौरवशाली सिंजा सभ्यता हो । प्राचीन कालदेखि नै खस सभ्यताको आधारभूमिका रूपमा परिचित कर्णालीलाई थप प्रसिद्ध बनाउन यस स्वास्थ्य विज्ञान प्रतिष्ठानको भूमिका रहनेछ भन्ने मैले विश्वास लिएको छु ।

अधिकांश भाग अग्ला पहाड र हिमालले ढाकेको हुनाले भौतिक पूर्वाधार विकासमा तुलनात्मक रूपमा पछाडि परेको भएपनि यहाँको अथाह जैविक विविधताको उपयोग र पर्यटन प्रवद्र्धन गर्न सक्दा कर्णाली एक समुन्नत प्रदेशमा रुपान्तरण हुन सक्दछ । गुणस्तरीय शिक्षा, सामाजिक चेतना तथा जागरण, सूचना एवं सञ्चार, विज्ञान तथा प्रविधि र यातायातको विस्तार हुँदै जाँदा यस क्षेत्रले समृद्धिको फड्को मार्ने निश्चित छ ।

यस क्षेत्रका जनताको जीवनस्तर माथि उकास्न विलम्ब नगरी पूर्वाधार विकासमा जोड दिनु पर्दछ । एकीकृत वस्ती विकास गर्दा भौतिक पूर्वाधार प्रवद्र्धनमा लगानी न्यून लाग्ने भएकाले त्यसमा ध्यान पु¥याउनु पर्दछ । विश्वप्रसिद्ध धार्मिक—साँस्कृतिक स्थल मानसरोवर जाने पहुँचमार्ग निर्माणलाई विशेष प्राथमिकता दिनु पर्दछ । चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने हिल्सा सडक मार्गलाई सम्पन्न गरी अन्तर्राष्ट्रिय सीमा नाकालाई पूर्वाधारयुक्त र सुदृढ तुल्याउनु पर्दछ । ‘स्वर्गकी रानी’ उपनामले परिचित नेपालको सबैभन्दा ठूलो र गहिरो रारा तालको संरक्षण गर्दै पर्यटनको विकास गर्नुपर्दछ ।

पहाडी क्षेत्र भएका विश्वका अन्य देशहरूको अनुभव तथा आफ्नै विकास प्रक्रियाबाट शिक्षा लिँदै यहाँ सामाजिक आर्थिक विकास गर्न सकिन्छ भन्ने हिम्मत लिनै पर्दछ । देशको सबैभन्दा ठूलो कर्णाली प्रदेश विकासका दृष्टिले अस्थायी रूपमा पछाडि परेको देखिएता पनि यहाँको पवित्र र उर्वर भूमिप्रति गर्व गर्दै यहाँका प्राकृतिक सम्पदाको सदुपयोग गर्न सके यो प्रदेशले समृद्धि हासिल गरिछाड्नेछ ।

परम्परागत कृषि प्रणालीका ठाउँमा आधुनिक प्रणाली अवलम्बन गरी यस क्षेत्रको विशिष्टता अनुरूप स्याउ, सिमी, ओखर ,आलु जस्ता स्थानीय उत्पादनमा विशेष जोड दिनुपर्दछ । जैविक कृषिको प्रवद्र्धनद्वारा कर्णाली आफैं कृषिमा आत्मनिर्भर भई मुलुककै खाद्य सुरक्षामा महत्वपूर्ण योगदान गर्न सक्दछ ।  यस सन्दर्भमा नेपाल सरकारले कृषि क्षेत्रको विकासका लागि संचालनमा ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना अन्तर्गत जुम्ला लगायतका जिल्लामा स्याउ उत्पादन विशेष कार्यक्रम लागू गरेको विषय स्मरण गर्न चाहान्छु । साथै, चन्दननाथ ब्रान्डको धान कृषकहरूमा लोकप्रिय भई उत्पादन वृद्धि भएको तथ्यसमेत उत्तिकै स्मरणीय छ ।

यस भूमिमा उच्च मूल्यका मह, जडीबुटी, हस्तकला, कुटकी, यार्चागुम्बा, सुगन्धित वनस्पति, शिलाजीत जस्ता वस्तुहरू उत्पादन हुने भएकाले यसको बजारीकरणका लागि विशेष योजना बनाउनु पर्दछ । यहाँका बहुमुल्य जडिबुटी विदेशमा निर्यात हुने र त्यसैबाट औषधीहरु उत्पादन भएर महंगोमा नेपालीहरुले सेवन गर्नुपर्ने बाध्यताबाट छुटकारा पाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उन्नतस्तरको अनुसन्धान केन्द्र स्थापना गरी यहाँ उपलब्ध बहुमूल्य जडिबुटीहरुको नेपालमै पहिचान र प्रयोग गर्ने वातावरण बनाउन सक्नुपर्दछ ।

कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानले यस प्रदेशका सम्पूर्ण जिल्लाहरूमा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानमा महत्वपूर्ण योगदान दिने बाटोमा अग्रसर हुनु खुशीको विषय हो । प्राकृतिक रुपले धनी यस पावनभूमीमा विश्वभरिका चिकित्सा शिक्षा पढ्न चाहने विद्यार्थीहरुको गन्तव्य स्थल बनाउन सकिने सुन्दर भविष्य यस प्रतिष्ठानसँग छ । गौरवमय कर्णालीको इतिहास पुर्नजागरण गरी कर्णालीलाई विकास र समृद्धिको मुलधारमा ल्याउन यस प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यसबाट एकातिर कर्णालीको मुहार फेरिनेछ भने यससँगै हाम्रो मुलुककै प्रतिष्ठा पनि उच्च हुँदै जाने विश्वास गर्न सकिन्छ ।

स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवामा जनताको सहज पहुँच स्थापित हुन सकेको खण्डमा मात्र देश साँचो अर्थमा विकसित हुन्छ । स्वास्थ्य सेवाको विकेन्द्रीकरण र स्वास्थ्य शिक्षाको ग्रामीण क्षेत्रमा सहज पहुँचको उत्कृष्ट उदाहरणका रुपमा रहेको यस प्रतिष्ठानले भविष्यमा यस क्षेत्रको स्वास्थ्यमा महत्वपूर्ण योगदान पु¥याई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल हुनेछ भन्ने विश्वास लिएको छु ।

कर्णालीसँग जोडिएर आउने अभाव र गरीबीको दुश्चक्रलाई तोडेर समृद्धिको बाटोमा लैजानका लागि उन्नति र प्रगतिका क्षेत्रहरू पहिचान गरी हाम्रा प्रयास त्यसतर्फ केन्द्रित गर्नुपर्छ भन्ने एउटा उदाहरण यो प्रतिष्ठानको स्थापना पनि हो ।

कर्णाली प्रदेशमा सुत्केरी महिलाले प्रसव पीडाका कारण अकालका ज्यान गुमाउनु परेको तीतो यथार्थलाई मनन् गरी राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आकस्मिक हवाई उद्धारको व्यवस्था गरिएको छ । अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाले गाउँ–गाउँमा विशेषज्ञ चिकित्सकको उपलब्धता बढ्न गई हवाई उद्धारको आवश्यकता विस्तारै कम हुने मैले महसुस गरेको छु । छाउपडी, धामीझाँक्री लगायतका अनेक रुढीवादी परम्परालाई अन्त्य गर्नका  लागि प्रतिष्ठानले उपचारात्मक मात्रै नभई जनचेतनामूलक कार्यक्रममा पनि ध्यान दिन आवश्यक छ ।

हाम्रो मुलुकबाट ठूलो संख्यामा चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न र शिक्षाको गुणस्तरलाई विश्वस्तरको बनाउन राज्यले यथेष्ट ध्यान पु¥याउनु पर्दछ । उत्पादित शैक्षिक जनशक्तिलाई देश र समाजप्रति जिम्मेवार बनाउन हामी सबै गम्भीर बन्नुपर्ने अभिभारा आज आइपरेको छ ।

कोभिड–१९ को महामारी र नयाँ भेरियन्टले त्रास फैलाइरहेको बेलामा सम्पूर्ण जनसमुदायले विशेष सावधानी अपनाउँदै समयमै खोप लगाएर सुरक्षित हुन आग्रह गर्दछु । सबै जनतालाई यथाशक्य छिटो कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन र सम्पूर्ण कर्णाली क्षेत्रलाई खोप अभियानको प्राथमिकतामा राख्न म सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछु ।

अन्तमा, आज सम्मानित हुने सबैलाई हार्दिक बधाई दिंदै उहाँहरूको सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु । साथै, यस प्रतिष्ठानका उपकुलपति लगायत सम्पूर्ण परिवारलाई प्रतिष्ठानका घोषित लक्ष्य प्राप्तिमा सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७८ साल मंसिर २६ गते आइतबार ।

जुम्ला, कर्णाली