७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्देश
७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दछु ।
संयुक्त राष्ट्रसंघ महासभाद्वारा सन् १९४८ डिसेम्बर १० का दिन मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको रूपमा प्रत्येक वर्ष मनाउने गरिन्छ । सदाझैँ यस वर्ष नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ ।
मानव सभ्यता र समाज विकासको क्रम अगाडि बढ्दै जाँदा मानवअधिकारका विभिन्न आयामहरू थपिंदै गएका छन् । लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भको रूपमा रहेका मानवअधिकारको विश्वव्यापी अवधारणाहरूलाई गहिरोसँग आत्मसात् गर्दै तिनको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिनु पर्दछ ।
हाम्रो संविधानद्वारा प्रत्याभूत गरिएका मौलिक अधिकारका प्रावधानले मानवअधिकारको दायरालाई फराकिलो बनाएको छ । हाम्रो मुलुक मानवअधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्र भएको हैसियतले मानवअधिकारको संरक्षण, संवर्द्धन र परिपूर्तिसम्बन्धी दायित्वसमेत राज्यको नै हुन्छ । राज्यले ती दायित्वहरू पूरा गरे–नगरेको बारेमा निगरानी गरी उत्तरदायी बनाउने जिम्मेवारी संवैधानिक आयोगका रूपमा राष्ट्रिय मानवअधिकार आयोगलाई दिइएको छ ।
मानवअधिकारको संरक्षण, संवर्द्धनका विषयमा राज्य र राज्यका निकायहरू मात्र जिम्मेवार भएर पुग्दैन । यसका लागि सबै क्षेत्र, सबै पक्ष जिम्मेवार र जवाफदेही हुन आवश्यक छ । मानवअधिकारको अर्को महत्त्वपूर्ण विषयका रूपमा रहेको सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्दै न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्नेतर्फ सम्बद्ध निकाय अग्रसर हुनु पर्दछ भन्ने मलाई लाग्दछ ।
जनचेतनाको विस्तारद्वारा संविधान र कानुनमा भएका व्यवस्थालाई कार्यान्वयन गरी समाजबाट सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्न संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सामाजिक संघ संस्थाहरू क्रियाशील रहनुपर्दछ ।
अन्त्यमा, अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको यस अवसरमा हामी सबैलाई मानवअधिकारको मर्म तथा भावना आत्मसात् गर्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
धन्यवाद ।
२०७८ मङ्सिर २४ गते, शुक्रबार ।