सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७५ का अवसरमा दिनुभएको शुभकामना सन्देश

संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय  वमोजिम नेपालमा “लैंगिक हिंसा र दुर्व्यवहारछैन हामीलाई स्वीकार” भन्ने राष्ट्रिय नाराका साथ विभिन्‍न कार्यक्रमहरु आयोजना गरी मनाउन लागिएको उपलक्ष्यमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सुख, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

वोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथालाई कानूनले निषेध गरिसकेको अवस्थामा समेत समाजमा अहिले पनि रहिरहेका अन्धविश्‍वास, कुरीति, कुसंस्कारले गर्दा नेपाली महिलाहरु हिंसा, विभेद र अपमानका पिडा खप्न अझै वाध्य छन् । तसर्थ महिला विरुद्ध हुने सबै खालका हिंसा अन्त्यको लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिक रुपले आत्मनिर्भर र स्वाबलम्बी बनाउनु पर्ने आजको आवश्यकता रहेको छ ।

अन्तमा, महिला बिरुद्ध हुने हिंसा विरूद्धको अन्तर्राष्ट्रिय दिवसले समाज, देश र अन्तर्राष्ट्रिय स्तरमा महिला हिंसालाई निषेध र निरुत्साहित गर्ने कार्यमा लागेका सबैलाई सफलता मिलोस् भन्ने कामना गर्दछु ।

धन्यवाद !

मिति २०७५ मंसिर ९ गते आइतबार ।