सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गुरुनानक जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

गुरुनानक जयन्तीको शुभकामना सन्देश

सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमाको दिन सिख धर्मावलम्बीहरूद्वारा आस्था र भक्तिभावका साथ पवित्र स्थल ‘गुरुद्वारा’मा भेला भई पूजाअर्चना‚ भजनकिर्तनका साथै  विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रमहरू गरी गुरुनानकको जन्मजयन्ती  मनाउने गरिन्छ । यस अवसरमा पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को वाचनका साथै सबैका लागि विना भेदभाव नि:शुल्क सामूहिक भोजन गर्ने ‘लंगर परम्परा’ समेत रहेको छ । यस्तो परम्पराबाट समाजमा विद्यमान विविध प्रकारका भेदभावको अन्त्य गर्दै आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्न मद्दत पुग्ने समेत देखिन्छ ।

गुरुनानकले समाजमा शान्ति, सद्‍भाव, सहिष्णुता र लोककल्याणका लागि सबै धर्महरूका बीचमा सद्‍भाव कायम राख्‍नका लागि गर्नुभएको मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र सद्‍भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्‍वास मैले लिएको छु ।

अन्तमा, समाजमा विद्यमान सबै प्रकारका विकृति‚ विसङ्गति एवं विभेदको अन्त्य गर्दै समतामूलक‚ सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्नेछ भन्ने विश्‍वासका साथ पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७८ साल मङ्सिर ३ गते शुक्रबार ।