सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ को शुभकामना सन्देश

आज ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, दीर्घायु तथा सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् सन् १९९१ देखि आजको दिन हामीले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएका छौं । यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि संयुक्त राष्ट्र संघले ‘सबै उमेर समूहको लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने मूल विषय  निर्धारण गरेको छ । तीव्र रूपमा विकसित भइरहेको विद्युतीय प्रविधिको माध्यमबाट ज्येष्ठ नागरिकको जीवनलाई सरल र सम्मानित बनाउन हामीले गर्ने थप मिहिनेतले मात्र यो अभियान सार्थक हुन सक्दछ ।

कोभिड-१९ महामारीको बीचमा पनि नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकारहरू, स्थानीय तहहरू र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ लगायत विभिन्न संघ संस्थाले विद्युतीय प्रविधिको प्रयोगबाट ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र सम्वर्द्धनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागेको जानकारी पाउँदा मलाई खुसी लागेको छ ।

ज्येष्ठ नागरिकहरू आफ्नो जीवनकालभरिका अनेकन उतार–चढाव‚ सफलता–असफलता र संघर्षपूर्ण भोगाईबाट आर्जन गरिएका ज्ञान, सिप र अनुभवका पुञ्ज हुनुहुन्छ । उहाँहरूको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्न सक्दछ । ज्येष्ठ नागरिकहरूको ज्ञान र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवार‚ समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्दछ ।

व्यक्तिको सरदर आयुमा भएको वृद्धिसँगै हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसंख्या बढ्दै गएको छ । आफ्नो जीवनको उर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि योगदान गर्ने ज्येष्ठ नागरिकको जीविकोपार्जन र रहनसहनलाई मानवोचित स्तरमा सुनिश्चित गर्नका लागि नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य विमा‚ सामाजिक सुरक्षा भत्ता लगायत विभिन्न सेवा र सुविधाहरूको व्यवस्था गरेको छ । यसको प्रभावकारी र सम्मानपूर्ण कार्यान्वयन गर्न सम्बद्ध सबैमा आह्वान गर्दछु ।

विगत करिब दुई वर्षदेखि सम्पूर्ण विश्‍वलाई नै आक्रान्त बनाएको कोभिड– १९ महामारीको पीडाबाट नेपाल पनि अपवाद रहन सकेन । महामारी विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दा नेपाल सरकारले ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेको छ । यद्यपि महामारीबाट पूर्ण मुक्ति नपाएसम्म जनस्वास्थ्यका मापदण्डहरू पालना गरिरहन सम्बद्ध सबैलाई आग्रह गर्दछु ।

अन्तमा, माया, ममता र करुणाका स्रोत रहेका ज्येष्ठ नागरिकहरूको संरक्षकत्व प्राप्त गरी बाजे–बज्यैदेखि नाति–नातिनासम्म सगोल परिवारमा रहने हाम्रो पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्त्व बुझ्न र बुझाउन आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा सहित ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन सबैमा हार्दिक आह्वान गर्दछु ।

धन्यवाद ।

२०७८ असोज १५ गते शुक्रबार ।