हरितालिका (तीज), २०७८ को शुभकामना सन्देश
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा अटल सौभाग्य, सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान रहेको छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा‚ उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको छ । विवाहपश्चात् महिलाहरू आफ्नो जन्मघर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाजलाई छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा समेत तीज पर्वलाई महिलाहरूले लिएको पाइन्छ ।
यसैगरी‚ तीज पर्वले चेली–माइती‚ साथी–सङ्गी‚ परिवार एवं आफन्तजन बीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सूत्रमा आवद्ध गर्न मद्दत पुर्याउँदछ भन्ने मलाई लाग्दछ । यसर्थ हरितालिका तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको छ ।
अन्तमा, हरितालिका तीजले हाम्रो समाजमा विद्यमान महिलाविरूद्ध हुने सबै प्रकारका विभेद र असमानताहरूको अन्त्य गर्दै सभ्य‚ समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु । साथै¸ कोभिड-१९ को सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्दै सावधानीका साथ यो चाड मनाउनु हुनेछ भन्ने आशा गर्दछु ।
धन्यवाद ।
२०७८ भदौ २४ गते बिहीबार ।