सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूद्वारा अग्रणी महिला चिकित्सकहरू सम्मानित

२२ श्रावण¸ काठमाडौँ ।

सम्मानीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल नेपाल चिकित्सक संघद्वारा आज  राष्ट्रपति भवन परिसरमा आयोजित एक कार्यक्रममा नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा विशिष्ट योगदान गर्ने अग्रणी महिला चिकित्सकहरूलाई सम्मानित गर्नुभयो ।

सम्मानीय राष्ट्रपतिज्यूले कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य सेवालाई नेपालको संविधानले नागरिकको मौलिक हकको रूपमा अंगिकार गरेको कुरा वताउनु हुँदै स्वास्थ्य सेवालाई आम नागिरकसम्म पुर्‍याउनका लागि  चिकित्सा शिक्षालाई सर्वसुलभ बनाउनु पर्ने¸ चिकित्सा क्षेत्रको पेशालाई मर्यादित बनाउनु पर्ने र स्वास्थ्य संस्थाहरूमा भौतिक पूर्वाधारको विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

राष्ट्रपतिज्यूले विद्यमान स्वास्थ्य संस्थाहरूले कोभिड–१९ सङ्क्रमणमको चाप झेल्नुपरिरहेको‚ कोरोना भाइरसका नयाँ प्रकारहरू देखापरिरहेको भन्दै उहाँले त्यसको सामना गर्न स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । राष्ट्रपतिज्यूले कोरोना महामारीबाट नागरिकको रक्षा गर्दै जनजीवनलाई सामान्य अवस्थामा फर्काउन जतिसक्दो छिटो सबै नागरिकलाई खोप उपलब्ध गराउनुपर्ने बताउनुभयो । यसैगरी उहाँले कोरोना महामारीसँग लड्न अग्रपङ्क्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्ने जनशक्तिको ठूलो सङ्ख्या महिला रहेको वताउनुहुँदै आफ्ना पारिवारिक र व्यक्तिगत प्राथमिकतालाई महìव नदिई महामारीविरुद्धको प्रतिकार्यमा लाग्ने सबै डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीहरूप्रति सम्मान प्रकट गर्नुभयो ।

‘‘स्वास्थ्य सेवामा कमजोर पहुँचका कारण नेपाली महिलाले भोग्नुपरेका धेरै समस्या छन्’’, उहाँले भन्नुभयो– “मातृशिशु स्वास्थ्य, कुपोषण, रक्तअल्पता, घरपरिवारका अन्य सदस्यहरू बिरामी पर्दा वहन गर्नुपर्ने थप जिम्मेवारी महिलाभित्र रहेको छ ।” महिलाका विषयलाई सम्बोधन गर्न नेपाल सरकारले आफ्ना नीतिहरूलाई समयानुकूल सुधार गर्दै आएको उहाँले बताउनुभयो । सामाजिक र संस्कारगत परिवर्तनको गतिलाई अझ तीव्र बनाउन महिलाको सक्षमता अभिवृद्धि, पेसागत दक्षता विकास र नेतृत्व तहमा महिलाको सहभागिता बढाउनुपर्नेमा समेत राष्ट्रपतिज्यूले जोड दिनुभयो ।

कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्कीले चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएका महिला चिकित्सकलाई सङ्घले सम्मानको सुरुवात गरेको बताउनुभयो ।

नेपाल चिकित्सक सङ्घले ‘वुमन इन मेडिसिन इन नेपाल २०२१’ अवार्डमार्फत महिला चिकित्सकहरूलाई सम्मान गरेको हो । यसरी सम्मानित हुने महिला चिकित्सकहरूमा प्रो. डा. दिव्याश्री मल्ल¸ प्रो. डा. रीता थापा¸ प्रो. डा. सरस्वती पाध्या¸ प्रो. डा. सुधा शर्मा¸ डा. कुसुम थापा¸ प्रो. डा. किरण रेग्मी¸ डा. आशा सिंह¸ प्रो. डा. संगीता भण्डारी हुनुहुन्थ्यो । यसरी नै सम्मानित हुने अन्य महिला चिकित्सकहरूमा प्रो. डा. दिव्या सिंह शाह¸ प्रो. डा. चन्द्र कार्की भण्डारी¸ प्रो. डा. सानु मैयाँ दली¸ प्रो. डा. सुधा अग्रवाल¸ प्रो. डा. अचला वैद्य¸ प्रो. डा. तारा मानन्धर र भूतपूर्व व्रिग्रेडियर जनरल डा. राधा शाह हुनुहुन्थ्यो ।