सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा भाग लिने नेपाली खेलाडीहरूलाई विदाई

असार ३१¸ काठमाडौँ ।

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २३ जुन¸ २०२१ देखि जापानमा आयोजना हुन गइरहेको ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा सहभागी हुने नेपाली खेलाडी¸ प्रशिक्षक तथा व्यवस्थापकहरूको टोलीलाई आज राष्ट्रपति भवन¸ महाराजगञ्जमा आयोजित कार्यक्रममा सफलताको शुभकामना दिंदै विदाई गर्नुभयो ।

सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिक खेलमा सहभागी हुने टोलीनेता राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको थियो ।

ओलम्पिक खेलमा भाग लिने खेलाडीहरूले देशको पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने आशा सम्माननीय राष्ट्रपतिज्यूले व्यक्त गर्नुभयो । राष्ट्रपतिज्यूले भन्नुभयो¸ “विश्वस्तरीय प्रतिस्पर्धा हुने ओलम्पिक खेलमा नेपालको सहभागिताबाट हाम्रो खेलको स्तर अभिवृद्धि गर्नका निम्ति ठूलो अनुभव र अवसर प्राप्त हुन्छ । यस खेलको अन्तर्राष्ट्रिय जगतले सुक्ष्म अवलोकन तथा विश्‍लेषण गर्ने हुनाले स्थापित नियमहरूको पालना गर्दै अनुशासित भएर प्रतिस्पर्धामा सहभागी हुँदा खेलाडीहरूले राष्ट्रको गरिमालाई माथि उठाउन सक्छन् ।” नेपालले खेलकूदका क्षेत्रमा थप प्रगति गर्नुपर्ने उल्लेख गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले आगामी खेलको विकासका लागि दत्तचित्त रहन सम्बन्धित निकायको ध्यान आकृष्ट गराउनु भयो ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ तथा सचिव माननीय तुलसा थापा¸युवा तथा खेलकूद मन्त्रालयका सचिव केदार न्यौपाने¸राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल¸ बरिष्ठ खेल अधिकारीका साथै प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूको उपस्थिति रहेको थियो ।