सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सीता उत्पत्ति दिवस (सीता जयन्ती) को अवसरमा दिनुभएको शुभकामना सन्देश

सीता उत्पत्ति दिवस  (सीता जयन्ती) को शुभकामना सन्देश

राजर्षी जनककी छोरी एवं नेपालभूमिकी गरिमामयी पुत्री, राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

प्राचीन मिथिलाको केन्द्रसमेत मानिएको जनकपुरसहित देशभरिका रामजानकी मन्दिरहरूमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन माता सीताको पूजा–अर्चना गरी सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञको प्रतिष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन रामायण र पुराणहरूमा गरिएको छ ।

माता सीताको प्रादुर्भाव तथा त्यसपछिका घटनाक्रमसँग सम्बद्ध वर्णन हाम्रो समृद्ध प्राचीन सभ्यताको परिचायक हो । कुनै पनि मुलुकको वर्तमान समयलाई त्यहाँको सभ्यता र इतिहासले प्रभावित गर्दछ । धेरै लामो समय व्यतीत भएपछि हिजोको इतिहासका कतिपय पक्षहरू आजको परम्परा वा संस्कृतिमा रुपान्तरण हुन्छन् । सदैव गतिशील रहेको नेपाली सभ्यताको उद्‍भव र विकासमा विविधतापूर्ण संस्कृति र परम्पराहरूको योगदान रहेको वास्तविकतालाई सीता जयन्तीले जीवन्त रूपमा स्मरण गराउँछ  । इतिहासको लामो कालखण्डमा श्रुतिपरम्पराबाट हाम्रो सभ्यताको वर्णन एकपछि अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आयो । लेख्य परम्पराका आदिकृति मानिने  प्राचीन ग्रन्थमा समेत सीता उत्पत्तिका कथाहरू पाइएको हुनाले माता सीताको जन्म हाम्रो पौराणिक तथा सांस्कृतिक विश्‍वासको धरोहरका रूपमा रहिआएको  छ ।

धैर्य, संयम र विवेककी प्रतिमूर्ति एवं एक आदर्श नारीको रूपमा सदा चित्रण गरिएकी जनकनन्दिनी  सीतासँग कैयन् शूरवीरले समेत उचाल्न नसक्ने भीमकाय शिवधनुलाई आफू बालिका छँदै सजिलैसँग उठाउन सक्ने असाधारण क्षमता रहेको जनविश्वास छ । एक वीरांगना हुनुका साथै मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीका रूपमा समेत माता सीताको श्रद्धा गरिन्छ । जगज्जननीको रूपमा पूजा अर्चना गरिने मातृशक्ति सीता नेपाल भूमिकी पुत्री हुनु हामी सबैका लागि अत्यन्त गौरवको विषय हो ।

यस वर्ष विश्वव्यापी महामारी कोभिड-१९ का कारण धार्मिक-सामाजिक गतिविधिलाई हामीले सिमित गर्नुपरेको छ । महामारीको सङ्क्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न सहर एवं जिल्लाहरूमा निषेधाज्ञा जारी गरेको छ । तसर्थ सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्डहरू र निषेधाज्ञाका नियमहरूको पालना गर्दै सीता जयन्ती मनाउनका लागि म सबैलाई हार्दिक आह्वान गर्दछु ।

अन्तमा‚ सीता जयन्तीको यस पावन दिवसले लैङ्गिक विभेद लगायत सबै  प्रकारका सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील‚ सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि हामी सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

 

धन्यवाद ।

२०७८ साल जेठ ६ गते  बिहीबार ।