सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालीहरूको महान चाड बडादशैँका अवसरमा दिनुभएको शुभकामना सन्देश ।

नेपालीहरूको महान चाड बडादशैँ, २०७५ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु ।

असत्यमाथि सत्यको विजय भएको मान्यता र प्रतीकको रुपमा मनाउने गरिएको विजया दशमीले सबै नेपालीलाई आ-आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक आर्थिक समृद्धिमा जुट्न प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु । मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवं पुनर्मिलन गराई खुशीयाली र हार्दिकता साटासाट गर्न प्रभावकारी भूमिका निर्वाह गरिरहेको हाम्रो साँस्कृतिक बैभवको रुपमा रहेको बडादशैँले सामाजिक एकता, आपसी सद्‍भाव र आत्मीय भातृत्व अभिबृद्धिमा ठूलो मद्दत पुर्‍याउने कुरामा म विश्वस्त छु । घटस्थापनादेखि प्रारम्भ भई नवरथा हुँदै कोजाग्रत पुर्णिमासम्म मनाइने बडादशैँको अवसरमा विविध धार्मिक साँस्कृतिक क्रियाकलाप एवं उत्सव हुने गरेका छन् । महापर्वको यस महत्वपूर्ण अवधिमा विभिन्न प्रजातिका बीउबिजनबाट जमरा उमारी त्यसलाई प्रसाद र आर्शिवादका रुपमा ग्रहण गरिने परम्पराले प्रत्यक्ष तथा परोक्षरुपमा अन्‍न र स्वच्छ वातावरणको महत्व स्थापित गर्न सहयोग पुर्‍याएको छ ।  यसैगरी दशैँघरमा कृषि औजार र विभिन्‍न बनस्पतिको पूजा गरिने चलनले मानव जीवनसँग घनिष्ट सम्बन्ध रहेको बोटबिरुवा र कृषि प्रणालीको संरक्षण गर्नुपर्ने चेतना फैलाएको छ ।यसरी महान चाड दशैँले साँस्कृतिक मूल्य मान्यता र मानव जीवनलाई सुखी र समृद्ध तुल्याउने सन्देश समेत प्रवाह गर्दै आएको छ ।

हाम्रो समाजमा अनादिकाल देखि हर्षोल्लास पूर्वक परम्परागत मनाउने गरिएका विभिन्‍न चाडपर्वहरुले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिक सृदृढ साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्‍न महत्वपूर्ण योगदान गरिरहेका छन् । हाम्रो धरोहरका रूपमा रहेका चाडपर्वहरु बहुमूल्य साँस्कृतिक सम्पदासमेत हुन् र यिनको संरक्षण एवं सम्बर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न ठूलो सहयोग पुग्ने विश्वास लिएको छु ।

अन्तमा, खुशीयालीको पर्वको रूपमा रहेको विजया दशमीले सबैमा नयाँ उत्साह एवं उमङ्ग, जोश तथा जाँगर थप्दै समुन्‍नत नेपाल र सुखी नेपाली बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद !

२०७५ कार्तिक २ गते शुक्रबार ।