सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

माननीय अर्थमन्त्री,

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष लगायत पदाधिकारी एवं सदस्यहरू,

उपस्थित राष्ट्रसेवकहरू,

भद्रमहिला तथा सज्जनवृन्द,

मुलुकको वाणिज्य तथा व्यापार प्रवर्द्धनको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपाल चेम्बर अफ कमर्सले ७० औँ वर्ष पूरा गरेको उपलक्ष्यमा हार्दिक बधाई दिँदै यस संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

सात दशकअघि प्रजातन्त्रको उदयसँगै व्यापारी व्यावसायीहरूले नेपाल चेम्बर अफ कमर्स जस्तो प्रतिष्ठित संस्था स्थापना गरी मुलुकको आर्थिक विकासमा निरन्तर योगदान पुर्‍याउँदै आउनु भएकोमा सराहना गर्दछु ।

साथै, यस अवसरमा सम्मानित हुनुहुने वर्तमान तथा पूर्व अध्यक्षहरूको योगदानको स्मरण गर्न चाहन्छु ।

हाम्रो साँस्कृतिक विरासतले सर्वेभवन्तु सुखीनः सर्वे सन्तु निरामयाः, सर्वे भद्राणी पश्यन्तु मा कश्चित दुःख भाग्भवेत् भन्ने युगौँदेखि सन्देश प्रवाह गरिरहेको छ ।

यसको अर्थ सबै सुखी होऊन्, सबै निरोगी होऊन्, सबैको जीवन शान्तिमय होस् र सबैको दुःख नाश होस् भन्ने नै हो ।

यही भावनाबाट अभिप्रेरित भएर हाम्रा विकासका अवधारणाहरु निर्मित हुँदै कार्यान्वयनमा गइरहेको सन्दर्भमा पछिल्लो चरणमा नेपाल सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्प अघि सारेको छ ।

आर्थिक विकासबाट समृद्धि हासिल हुने र यसबाटै सुख र शान्ति प्राप्त हुने भएकाले उक्त दृष्टिकोणलाई साकार तुल्याउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनु पर्दछ भन्ने मलाई लागेको छ ।

मेरो विश्वास छ, स्थापनाकालदेखि नै चेम्बरजस्ता संघसंस्थाहरूले हाम्रो साँस्कृतिक मूल्य मान्यतालाई आत्मसात गर्दै उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा योगदान गर्दै आएका छन् ।

यसबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्वपूर्ण आधार निर्माण भएको छ ।

नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन विभिन्न प्रदर्शनीहरूको आयोजना गर्नुका साथै प्रवर्द्धनात्मक गतिविधिद्वारा नेपाली उद्योगीहरूको व्यावसायिक क्षमता वृद्धि गर्न पनि चेम्बर सफल भएको छ ।

औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्वपूर्ण भएको छ ।

प्राकृतिक स्रोत तथा सम्पदाले भरिपूर्ण यस मुलुकमा रहेका कृषि, जडीबुटी, वन तथा खनिज पदार्थको दिगो उपयोग गर्दै स्वदेशी उत्पादन वृद्धि गर्नु आजको आवश्यकता हो ।

यसबाट आयात प्रतिस्थापन भई व्यापार सन्तुलन हासिल हुने र स्वावलम्बी अर्थतन्त्र निर्माणमा टेवा पुग्ने विश्वास लिएको छु ।

सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रको सहभागिता र समन्वयमा आर्थिक गतिविधिहरू सञ्चालन गर्दै अघि बढेमा आर्थिक विकासले तीब्रता लिनेछ भन्ने मलाई लाग्दछ ।

हाम्रो पवित्र धर्ती शान्तिका अग्रदूत बुद्धसहित विद्वान् मनिषीहरूको तपस्थली हो ।

यस परिवेशबाट साँस्कृतिक पर्यटनको ठूलो संभावना देखिएको सन्दर्भमा साँस्कृतिक पर्यटक लक्षित वस्तुको उत्पादनमा जोड दिनु पर्ने खाँचो मैले महसुस गरेको छु ।

हाम्रो भौगोलिक अवस्थितिबाट सजिलै यस्ता उत्पादनको बजारीकरण हुन संभव छ भन्ने मलाई लाग्दछ ।

नेपाल चेम्वर अफ कमर्सले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि छुट्टै चेम्बर गठन गरी महिला उद्यमशीलताको विकास गर्न अग्रसर भएकोमा खुसी लागेको छ ।

यसैगरी युवा उद्यमीहरूलाई चेम्बरका गतिविधिमा संलग्न गराउन नेपाल युथ चेम्बर गठन गर्नु प्रशंसनीय कार्य हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महामारी, बाढी, पहिरो, कोभिड–१९ जस्ता प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई राहत तथा पुनःस्थापना गर्ने कार्यमा चेम्बरले निर्वाह गरेको भूमिकाको म उच्च प्रशंसा गर्दछु ।

उद्योग र व्यापारको प्रवद्र्धनका लागि मुलुकमा धेरै संघसंस्थाहरू सक्रिय छन् ।

चेम्बर अफ कमर्सले ती सबैसँग घनिष्ट सम्बन्ध र सहकार्य गर्दै अगाडि बढेको खण्डमा व्यावसायिक क्षेत्रको विकास सहित मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने विश्वास लिएको छु ।

अन्तमा, उत्साही, जागरुक र सिर्जनशील व्यवसायी श्री राजेशकाजी श्रेष्ठको नेतृत्वमा रहेको यस संस्थामा आवद्ध प्रतिष्ठित व्यावसायिक समुदायले मुलुकको उद्योग, वाणिज्य तथा व्यापार र समग्र आर्थिक क्षेत्रको नीति निर्माणमा सरकारलाई सदा झैं सहयोग पुर्‍याउँदै अघि बढ्ने अपेक्षा सहित पुनः यस संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद ।

२०७७ साल चैत्र २ गते सोमबार ।