सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले तमु ल्होसार पर्व, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

तमु ल्होसार पर्व, २०७७ को शुभकामना सन्देश

गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका तमु समुदाय लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

गुरुङ समुदायले आज विशेष हर्षका साथ पुरानो वर्षलाई बिदाइ गरी आजदेखि आफ्नो पारम्परिक नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै छन् । यस पर्वको अवसरमा गुरुङ समुदायले आफन्तजन र नाताकुटुम्बलाई घरमा बोलाएर भोज खुवाउनुका साथै घाटु, सोरठी, चुड्का र कौडा जस्ता प्रचलित नृत्यहरू नाच्दै रमाइलो गर्ने परम्परा रहेको पाइन्छ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वहरूबाट सबै नेपाली बीच आपसी सद्‍भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्‍वास लिएको छु ।

कोभिड-१९ महामारीका कारण उत्पन्न यस असहज परिस्थितिमा पूर्व सावधानीका उपायहरूको अवलम्बन गरी चाड मनाउन हुन सबैमा आव्हान गर्दछु ।

अन्तमा, गुरुङ समुदायको यस पर्वले संपूर्ण नेपालीलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन प्रेरणा प्रदान गर्ने विश्‍वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद ।

मिति २०७७, पुस १५ गते, बुधबार