सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उधौली पर्व, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

उधौली पर्व, २०७७ को शुभकामना सन्देश

किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

उधौली पर्वको अवसरमा पितृ र प्रकृतिपूजक किराँत समुदायभित्रका राई, लिम्बू, सुनुवार र याख्खाहरूले मानिस, जीवजन्तु तथा पशुपंक्षीहरू लेकबाट बेँसीतिर बसाई सर्ने समयमा पाकेको नयाँ अन्नबाली आफ्ना पितृलाई चढाउने र राम्रो फसलको लागि धन्यवाद दिँदै अन्नबाली फारोतिनो होस् भन्ने कामना सहित भूमिको पूजा गर्ने गर्दछन् । यसका साथै, यस पर्वको अवसरमा किराँत महिला र पुरुषहरू खुल्ला आकाशमुनि ढोल र झ्याम्टा बजाएर चराचुरूङ्गी, जीवजन्तुको हाउभाउ एवं मानिसका विभिन्न कृयाकलापहरूको अनुकरण गर्दै सामुहिक रूपमा  ‘साकेला’ नृत्य गर्ने परम्परा छ ।

यस चाडले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसर समेत प्रदान गर्ने भएकोले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिन्छ । यस्ता चाडपर्वहरूबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्‍वास लिएको छु  ।

प्राकृतिक ऋतुचक्रसँग एकाकार भई मनाइने यस उधौली पर्वले प्राकृतिक स्रोतहरूको दिगो उपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा दिन सकोस् भनी हार्दिक शुभकामना प्रकट गर्दछु ।

धन्यवाद ।

मिति २०७७, पुस १५ गते, बुधबार ।