सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सवका अवसरमा गर्नुभएको सम्बोधन  

 कार्यक्रममा अध्यक्षता गरिरहनुभएका प्रेस काउन्सिल नेपालका अध्यक्षज्यू,

माननीय मन्त्रीज्यू,

उपस्थित सञ्चारकर्मी तथा अन्य महानुभावहरू !

सर्वप्रथम प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिकोत्सवका अवसरमा प्रेस काउन्सिल परिवार र सिङ्गो नेपाली प्रेस जगत्लाई बधाई एवम् शुभकामना दिन चाहन्छु ।

स्वस्थ पत्रकारिता विकासका लागि उपयुक्त वातावरण सिर्जना गरी यो क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन स्थापित प्रेस काउन्सिलले आज स्थापना दिवस मनाउन गइरहेकोमा मलाई खुसी लागेको छ । प्रेस काउन्सिलको बेग्लै इतिहास, गरिमा र महत्त्व छ । त्यसलाई झन् बढाउन आजको दिनले सबैलाई प्रेरित गरोस् भनी म यो अवसरमा पुन: शुभकामना दिन चाहन्छु ।

लोकतन्त्र भएका मुलुकमा पत्रकारितालाई चौथो अङ्गका रूपमा लिइन्छ । कुनै पनि मुलुकको लोकतन्त्र कति सुदृढ छ भन्ने विषय त्यस देशको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था र पत्रकारिता क्षेत्रको विकासले निर्धारण गरेको हुन्छ । त्यही भएर हाम्रो संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रूपले प्रत्याभूत गर्ने व्यवस्था गरिएको हो । निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउँंछ भन्नेमा मेरो गहिरो विश्वास छ । यही दर्शनलाई आत्मसात् गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्ने लोकतान्त्रिक व्यवस्थाका लागि मेरो जीवनको उर्वर समय जेलनेल, यातना र अनेकौँ कष्टले बितेको छ । त्यही भएर पनि निष्पक्ष, स्वतन्त्र र मर्यादित पत्रकारिताका लागि प्रेस स्वतन्त्रतामा मेरो अटल विश्वास र समर्पण सधँै रहँदै आएको छ ।

पत्रकार वा प्रेसलाई कुनै कानुन, नियम बनाएर नियन्त्रण गर्नुपर्छ भन्ने दृष्टिकोणको म सधैँ विपक्षमा उभिँदै आएको हुँ । गलत र भ्रामक सूचना दिने सञ्चारमाध्यमलाई पाठक, श्रोता र दर्शकले दण्डित गर्दछन् भन्ने दर्शनमा मलाई विश्वास छ । सञ्चारकर्मी र सञ्चारमाध्यम आफैँ जिम्मेवार हुन सक्नुपर्छ ।

तर पनि समग्र पत्रकारिता क्षेत्रको विश्वसनीयता तथा मर्यादा कायम राख्न र प्रेस स्वतन्त्रताको सदुपयोग होस् भनेर लोकतन्त्रमा काउन्सिलजस्ता निकाय स्थापना गरी आचारसंहिता तोक्ने, कार्यान्वयन भए-नभएको अनुगमन गर्ने जिम्मेवारी वहन गर्दै आइरहेको छ । साथै, सार्वजनिक नैतिकता र नागरिकहरूको मर्यादा कायम राख्न लगाउनका लागि काउन्सिलको भूमिका महत्त्वपूर्ण हुन्छ । प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिल स्वयम्को पनि निष्पक्ष र स्वतन्त्र तथा सिर्जनात्मक भूमिका हुनुपर्छ भन्ने मलाई लाग्छ ।

सामाजिक सञ्जालको तीव्र विकास र प्रयोगसँगै नागरिकलाई दिग्भ्रमित पार्ने विषयवस्तु र सामग्रीले कतिपय बेला अन्योल सिर्जना भइरहेको भन्ने गुनासो सरोकारवालाले गरेको पाइन्छ । यस्तो अवस्थामा सामाजिक सञ्जालबाट सिर्जना हुने अन्योलसमेत प्रेसजगत्ले चिर्ने गरी सूचना प्रवाह गर्नुपर्ने दायित्व थपिएको छ ।

राम्रो काम गर्ने पत्रकारलाई पुरस्कृत, सम्मान गर्ने र राम्रो गर्न नसक्नेलाई उत्प्रेरित गर्ने स्वायत्त संस्थासमेत प्रेस काउन्सिल भएकाले आगामी दिन यो काममा काउन्सिललाई सफलता मिलोस् भन्ने शुभेच्छासमेत राख्न चाहन्छु ।

अन्त्यमा, वार्षिकोत्सवका अवसरमा पत्रकारितामार्फत लामो समयदेखि राष्ट्रलाई योगदान दिई सम्मान पाउनुहुने र देशका विभिन्न भागबाट छानिएर विभिन्न विधामा पुरस्कृत सबैमा हार्दिक बधाई छ ।

जय नेपाल !

२०८० साल असोज ६ गते