सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालस्थित अवैतनिक महावाणिज्यदूत एवम् वाणिज्यदूतहरुबाट शिष्टाचार भेट

आज मिति २०७३ साल माघ १२ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालस्थित अवैतनिक महावाणिज्यदूत एवम् वाणिज्यदूतहरुको समुदाय (Honorary Consular Corps-Nepal) ले शिष्टाचार भेट गर्‍यो । भेटका अवसरमा अवैतनिक वाणिज्यदूतहरुको तर्फबाट समुदायका डिन श्री श्रीराम लामिछाने एवम् अन्य महावाणिज्यदूतहरुले आफूले गरिरहेका कार्यहरुका वारेमा संक्षिप्त विवरण प्रस्तुत गर्नुभयो ।

त्यस अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरु सम्बन्धित देशका कूटनीतिक प्रतिनिधि सरह रहेकाले नेपाल र आफूले प्रतिनिधित्व गर्ने देशबीचको सामाजिक, आर्थिक तथा साँस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाई नेपाल र नेपाली जनताको गौरव वढाउने कार्यमा दत्तचित्त हुन आग्रह गर्नुभयो । साथै सम्माननीय राष्ट्रपतिज्यूले देशको सर्वोपरी हितमा पूँजी र प्रविधिको लगानी बढाउन नेपाल र सम्बन्धित राष्ट्रबीच पुलको काम गर्न पनि उहाँहरुलाई अनुरोध गर्नुभयो ।

उक्त अवसरमा नेपालस्थित ४० देशका अवैतनिक महावाणिज्यदूत/वाणिज्यदूतहरुमध्ये २३ देशका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरुः श्री श्रीराम लामिछाने (लक्जेम्वर्ग), श्रीमती अम्बिका श्रेष्ठ (स्पेन), श्री गजेन्द्रबहादुर श्रेष्ठ (स्वीडेन), श्री आङ्‌छिरिङ्ग शेर्पा (बेल्जियम), श्री साहिल अग्रवाल (बोस्निया हर्ज गोभिना), श्री भोला विक्रम थापा (बुल्गेरिया), श्री वसन्त राज मिश्र (चिली), श्री विनयमान श्रेष्ठ (कोलम्बिया), श्री पद्म ज्योती (साइप्रस), श्री नवराज दाहाल (स्टोनिया), श्री पारस शाक्य (फिजी), श्री चन्द्रप्रसाद ढकाल (इन्डोनेशिया), श्री भिमकृष्ण उदास (जोर्डन), श्री दिनेश श्रेष्ठ (माल्टा), श्री छेतान ग्यूर्मन श्रेष्ठ (मंगोलिया), श्री लोकमान्य गोल्छा (पोल्याण्ड), श्री राजेन्द्रकुमार खेतान (पोर्चुगल), श्री पासाङ्ग दावा शेर्पा (स्लोभाक गणतन्त्र), श्री प्रदिपकुमार श्रेष्ठ (दक्षिण अफ्रिका), श्री किरण वैद्य (युक्रेन), श्री राजेश काजी श्रेष्ठ (भियतनाम), श्री विक्रम पाण्डे (ग्रिस) तथा श्रीमती प्रतिमा पाण्डे (इटली) को उपस्थिति रहेको थियो ।

(कुल प्रसाद चुडाल)

प्रवक्ता