सम्माननीय राष्ट्रपतिज्यूबाट व्यक्त ग्याल्बो ल्होसार, २०७६ को शुभकामना सन्देश

ग्याल्बो ल्होसार, २०७६ को शुभकामना सन्देश

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पा लगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने महायानी बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यस पर्वमा ग्याल्बो ल्होसार मान्‍ने समुदायले आफ्नो घर तथा गाउँटोलको सरसफाई गर्ने, पुरानो ध्वजाको ठाउँमा नयाँ ध्वजा राख्‍ने, नौ प्रकारका अन्‍न मिसाइएको परिकार गुथुक र खाप्से जस्ता मीठो परिकारका साथमा चाङ्कोल पिउँदै नाचगान गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने गर्दछन् ।
हाम्रो देश प्राकृतिक, भौगोलिक र साँस्कृतिक रुपमा विविधतायुक्त रहेको छ । फरक प्राकृतिक र भौगोलिक परिस्थितिमा विकास भएका विविधतायुक्त संस्कृतिहरू हाम्रा राष्ट्रिय सम्पदाहरू हुन् भने विविधतामा एकता हाम्रो राष्ट्रिय पहिचान हो । हिमाली भेगमा बसोबास गर्ने समुदायले मनाउने ग्याल्बो ल्होसार पनि समग्र नेपाली संस्कृतिकै एक महत्वपूर्ण अङ्ग हो ।
यस्ता चाडपर्वहरूले विविध संस्कृति अँगालेका नेपालीहरूको बीचमा सहिष्णुता, पारस्परिक सद्‍भाव र सहयोग अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न सघाउ पुग्नेछ भन्‍ने कुरामा म विस्वस्त छु ।
अन्तमा, ग्याल्बो ल्होसार पर्वले सबै नेपालीहरूमा नयाँ उमङ्गसहित हर्षोल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्‍ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७६ साल फागुन १२ गते, सोमबार