सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूद्वारा सुदूरपश्चिम प्रदेशको भ्रमण सम्पन्न

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २०७६ साल फागुन १४ देखि १७ गतेसम्म सुदूरपश्चिम प्रदेशका पाँचवटा जिल्लाहरू- कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाको भ्रमण सम्पन्‍न गर्नुभएको छ । भ्रमणको सिलसिलामा उहाँले त्यस क्षेत्रका प्रमुख धार्मिक स्थलहरूको दर्शन, सांस्कृतिक र ऐतिहासिक केन्द्रहरूको अवलोकन गर्नुका साथै साहित्य, शिक्षा एवं पर्यटनसम्बन्धी विभिन्‍न कार्यक्रमहरूको उद्‍घाटन गर्नुभएको थियो ।

भ्रमणको पहिलो दिन फागुन १४ गते उहाँले सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा धनगढीमा आयोजित विश्व साहित्य सम्मेलनको उद्‍घाटन गर्नुभयो । आफ्नो उद्‍घाटन मन्तव्यको क्रममा उहाँले सुदूरपश्चिम प्रदेश कला, साहित्य र संस्कृतिका लागि उर्बर रहेको कुरा उल्लेख गर्नुहुँदै यस क्षेत्रका अग्रणीहरू पहलमान स्वाँर र जयपृथ्वीबहादुर सिंह जस्ता स्रष्टाहरूले नेपाली भाषा, साहित्य र संस्कृतिको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्‍याएको कुरा बताउनु भयो । यसैगरी उहाँले सामाजिक-सांस्कृतिक विचलन र विकृतिको विरुद्ध चेतना र जागरण फैलाउन साहित्यले ठूलो योगदान पुर्‍याउने भएकाले असल साहित्य सृजनामा साहित्यकारहरूलाई यसप्रकारको जमघटले ठूलो प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । नेपाली भाषा राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने एउटा माध्यम रहेको कुरा उल्लेख गर्नुहुँदै उक्त सम्मेलनले विश्वभरि छरिएर रहेका नेपाली भाषीहरू बीचको भावनात्मक एकतालाई सुदृढ गर्नका लागि एउटा महत्वपूर्ण अवसर प्रदान गरेको कुरा बताउनुभयो । त्यसपछि सम्माननीय राष्ट्रपतिज्यूले २०७३ साल माघमा उहाँ आफैद्वारा उद्‍घाटित धनगढी उपमहानगरपालिका स्थित शिवनगर खानेपानी आयोजनाको अवलोकन गर्नुभयो ।

सम्माननीय राष्ट्रपतिज्यूले भ्रमणको दोस्रो दिन फागुन १५ गते दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका स्थित महत्वपूर्ण शक्तिपीठको रूपमा सुप्रसिद्ध श्री शैल्यशिखर मालिकार्जुन मन्दिरको दर्शन गर्नुभयो । त्यसपछि उहाँले सोही क्षेत्रमा रहेको मालिकार्जुन माध्यमिक विद्यालयको अवलोकन गर्नुभयो । त्यसै स्थानमा आयोजित एक समारोहलाई सम्बोधन गर्ने क्रममा सम्माननीय राष्ट्रपतिज्यूले मालिकार्जुन मन्दिरको दर्शन गर्ने सुअवसर मिलेकोमा खुशी व्यक्त गर्नुहुँदै यस प्रसिद्ध धामको विकासमा ध्यान पुर्‍याउन सम्बद्ध निकायहरूलाई आग्रह गर्नुभयो । यसैगरी उहाँले प्राचीन कालमा व्यास ऋषिले तपस्या गरी ज्ञानको ज्योति छरेको यो क्षेत्र शैक्षिक विकास र विस्तारमा लागेकोमा खुसी लागेको कुरा बताउनु भयो । उहाँले यस क्षेत्रमा विद्यूतीकरण, सडक सञ्जाल, सञ्चार र स्वास्थ्य केन्द्र लगायतका पूर्वाधारको विकास गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने कुरा बताउनु भयो । उहाँले दार्चुला जिल्ला प्राकृतिक रूपले मनोरम र जैविक विविधताले सम्पन्न भएको कुरा उल्लेख गर्नुहुँदै जडीबुटी प्रशोधन केन्द्रहरूको स्थापना गरी प्राकृतिक स्रोतबाट अधिकतम फाइदा लिनका लागि सम्बन्धित निकायहरू अग्रसर हुनुपर्ने कुरा बताउनु भयो । यसैगरी सम्माननीय राष्ट्रपतिज्यूले जलवायु परिवर्तनका कारण प्राकृतिक सम्पदामा नकारात्मक असर पारिरहेको सन्दर्भमा त्यस क्षेत्रका प्रसिद्ध अपि, व्यास र नाम्पा हिमशिखर जस्ता महत्वपूर्ण प्राकृतिक निधिहरूको दिगो संरक्षणमा स्थानीय तहबाटै तदारुकता देखाउनु पर्ने कुरामा ध्यान आकृष्ट गराउनु भयो ।

सोही दिन राष्ट्रपतिज्यूले बैतडी जिल्लाको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरको दर्शन गर्नुभयो । त्यसपछि उहाँले सोही जिल्लाको पाटनमा रहेको भीमदत्त प्राविधिक शिक्षालयको नवनिर्मित भवनको उद्‍घाटन गर्नुभयो । आफ्नो मन्तव्यको क्रममा राष्ट्रपतिज्यूले गौरा पर्व र देउडालाई आत्मसात गरेर आफ्नो मौलिक परम्परालाई उजागर गर्न सफल वैतडी जिल्लाले हाम्रो देशको सांस्कृतिक परम्परालाई धनी तुल्याउन ठूलो योगदान पुर्‍याएको कुरा उल्लेख गर्नुहुँदै पछिल्लो समयमा क्रिकेट खेलमा समेत प्रगति गर्दै गएको यस जिल्लाले राष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्न योगदान पुर्‍याएकोमा खुसी व्यक्त गर्नुभयो । यसैगरी भीमदत्त प्राविधिक शिक्षालयले स्वदेशमै रोजगारीको सिर्जना गर्न र उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने विश्वास प्रकट गर्नुभयो । यसका साथै सम्मानीय राष्ट्रपतिज्यूले जलस्रोत, वन पैदावर, जडिबुटी, वन्यजन्तु र प्राकृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रलाई कृषिमा आधुनिकीकरण गरी खाद्यान्‍नमा आत्मनिर्भर बनाउनु पर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नु भयो ।

सम्माननीय राष्ट्रपतिज्यूले भ्रमणको तेस्रो दिन फागुन १६ गते डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका स्थित प्रसिद्ध तीर्थस्थल उग्रतारा मन्दिरको दर्शन गर्नुभयो । सोही स्थानमा आयोजित एक समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले उग्रतारा मन्दिरको दर्शन, पूजाअर्चना र अवलोकन गर्नका लागि कुशल व्यवस्थापन गरेकोमा अमरगढी नगरपालिका, मन्दिर व्यवस्थापन समिति र स्थानीय समुदायको सराहना गर्नुका साथै यस पवित्र स्थलको उन्‍नयनमा सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने कुरा बताउनु भयो । यसैगरी राष्ट्रपतिज्यूले विकासको ठूलो सम्भावना भएको सुदूरपश्चिम राष्ट्रको आर्थिक विकासमा प्रभाव पार्ने महत्वपूर्ण क्षेत्र रहेको कुरा उल्लेख गर्नुहुँदै यस क्षेत्रमा रहेका धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेका सम्पदाहरूको देश विदेशमा व्यापक प्रचारप्रसार गर्नुपर्ने कुरा बताउनु भयो ।

सोही दिन सम्माननीय राष्ट्रपतिज्यूले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारका लागि भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा पर्यटन महोत्सवको उद्घाटन गर्नुभयो । महोत्सवको उद्‍घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले शुक्लाफाँटा पर्यटन महोत्सवले पर्यटकीय सेवा प्रवाहको अवस्था बुझ्न, सांस्कृतिक सम्पदाहरूका साथै स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने काममा सहयोग पुग्ने कुरामा विश्वस्त रहेको कुरा बताउनु भयो । उहाँले यस क्षेत्रमा बसोबास गर्ने राना थारुहरूको मौलिक संस्कृति हाम्रा अमूल्य निधि भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सम्बन्धित पक्षले ध्यान दिन आग्रह गर्नुभयो । यसैगरी राष्ट्रपतिज्यूले धनगढीको गेटा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थलका रूपमा स्तरोन्नति गर्नुका साथै पश्चिम सेती आयोजना, पञ्चेश्वर परियोजना, कैलाश मानसरोवर पहुँचमार्ग निर्माणका लागि पनि सम्बन्धित पक्ष संवेदनशील हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकको पश्चिमी क्षेत्रको विकासको द्वारको रूपमा रहेको सुख्खा बन्दरगाह, महाकाली नदीमा आधुनिक सुदृढ पुल सहित विभिन्‍न भौतिक पूर्वाधार विकास गर्न सम्बद्ध पक्षको ध्यान जानुपर्ने कुरा बताउनु भयो । यसैगरी राष्ट्रपतिज्यूले देशको पर्यावरण सन्तुलनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको संरक्षणमा नेपाली सेनाले पुर्‍याएको योगदानको पनि प्रशंसा गर्नुभयो ।

उक्त भ्रमणको सन्दर्भमा धनगढीमा रहँदा सम्माननीय राष्ट्रपतिज्यूले त्यस प्रदेशका संघीय संसदका माननीय सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका जनप्रतिनिधि, प्राध्यापक, राना थारु समुदायका प्रतिनिधि र स्थानीय जनसमुदायसँग भेटघाट गर्नुभएको थियो ।

सम्मानीय राष्ट्रपतिज्यू घरेलु वायु सेवाको नियमित उडानबाट धनगढी पुग्नु भएको थियो भने उहाँले धनगढी स्थित राष्ट्र बैंकको अतिथिगृहलाई आफ्नो भ्रमण मुकाम बनाउनु भएको थियो । भ्रमणको सिलसिलामा सम्माननीय राष्ट्रपतिज्यूलाई विभिन्न क्षेत्र, स्थानीय तह तथा आम जनसमुदायले भव्य स्वागत गर्नुका साथै अभिनन्दन समेत गरेको थिए ।