सम्माननीय राष्ट्रपतिज्यूबाट जारी ‘सहिद दिवस, २०७६’ को सन्देश‌

सहिद दिवस, २०७६ को सन्देश

राष्ट्रियता, लोकतन्त्र, स्वतन्त्रता, समानता एवं जनजीविकाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान सहिदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्दलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

यस सहिद दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्वद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदहरूको सपना साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

देश र जनताको लागि आफ्नो जीवनको आहुती दिने वीर सहिदहरूप्रति श्रद्धा, सम्मान र स्मरण स्वरूप विविध रचनात्मक कार्यक्रमहरू गरी सहिद दिवस मनाउँदै आइएको छ । विगतमा सहिदहरूले  गरेको त्याग र वलिदानको प्रतिफल स्वरूप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । प्राप्त उपलब्धिहरूको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिकरूपले समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्न सकेमा सहिदहरूप्रति सच्चा सम्मान हुने मैले विश्वास लिएको छु।

अन्तमा, वीर सहिदहरूको सपनालाई साकार बनाउन हामी सबैले आ-आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ निभाउनका लागि यस दिवसले थप प्रेरणा प्रदान गर्नेछ भन्ने आशा लिएको छु ।

 

धन्यवाद ।

२०७६ माघ १६ गते, बिहिबार।