सम्माननीय राष्ट्रपतिज्यूबाट दुःख व्यक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मिति २०७५ साल चैत्र १७ गते आइतबार साँझ वर्षासँगै आएको भिषण हावाहुरीका कारणले बारा र  पर्सालगायतका जिल्लामा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुहुँदै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्नु भएको छ । यस घटनामा ठूलो संख्यामा जनसमुदाय घाइते भएकोमा सहानुभूति प्रकट गर्नुहुँदै घाइतेको यथाशीघ्र उपचारको प्रवन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ । सम्माननीय राष्ट्रपतिज्यूले उक्त आँधिबेहरीले त्यस क्षेत्रमा रहेका घर, सवारीसाधन, अन्नबाली, फलफूलखेतीका साथै अन्य भौतिक संरचनामा पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्नुहुँदै राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने कुरा बताउनु भएको छ । हावाहुरी, बाढी, पहिरो, डढेलो, आगलागी जस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बद्ध सबै पक्षले समयमा नै पूर्व सावधानी अपनाउन समेत ध्यानाकर्षण गराउनु भएको छ । साथै भौतिक पूर्वाधार विकास गर्दा जोखिम न्यूनीकरणका सबल उपायहरू अवलम्बन गर्न सरोकारवाला सबै पक्षहरू सचेत रहनुपर्ने कुरा सम्माननीय राष्ट्रपतिज्यूले बताउनु भएको छ ।

साथै, हालै मुलुकका विभिन्न भागमा भएका सडक दुर्घटनामा परी जीवन गुमाउनेहरूका परिवारप्रति समवेदना प्रकट गर्नुहुँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

  (छविन्द्र पराजुली)

प्रवक्ता