सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपाल सरकारको आ.व. २०७३/७४ को वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल साउन ११ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा आर्थिक वर्ष २०७३/०७४ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपालको संविधानको धारा ५३ बमोजिम पेश गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट मुलुकमा विद्यमान गरिबी, बेरोजगारी, असमानता तथा विभिन्न विसङ्गतिहरु निराकरण गर्नका लागि संविधानले मार्गदर्शन गरेका नीति एवम् दायित्व जनआकांक्षा अनुरुप परिपूर्ति हुनेतर्फ सम्बद्ध सबैले ध्यान पुर्‍याउनु पर्नेमा जोड दिनुभयो । सो समारोहमा माननीय उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री श्री ईश्वर पोखरेल, माननीय गृहमन्त्री श्री रामबहादुर थापा, माननीय अर्थमन्त्री डा. युवराज खतिवडा, सम्माननीय प्रधानमन्त्रीका मुख्य सल्लाहकार श्री विष्णु प्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव श्री लोकदर्शन रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता