सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका अवसरमा आम मतदाताको नाममा जारी गर्नुभएको सन्देश

नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भए पश्‍चात् मुलुकका ३२ जिल्लामा भोलि मिति २०७४ साल मंसिर १० गते हुन लागेको पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढंगले उल्लासमयरुपमा सफल बनाउन म आह्वान गर्दछु ।

नेपाल संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गते भित्र उक्त संरचना अन्तरगतका सबै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यसै शिलशिलामा विगतमा स्थानीय तहको निर्वाचन जनताको उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भईसकेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्पूर्ण रहेको तथा उक्त निर्वाचन पछि मुलुक राजनीतिक स्थायित्व र समृद्धिको पथमा अघि वढ्ने छ भन्ने मलाई विश्वास लागेको छ ।

नेपालको संघीय संरचना अनुसार हुन गइरहेको पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रथम चरणको निर्वाचनमा समेत उत्साह र उमङ्गकासाथ सहभागी भई संविधानप्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई म अनुरोध गर्दछु ।

धन्यवाद !

२०७४ साल मंसिर ९ गते शनिबार ।