सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू एवम् प्रमुख राजनीतिक दलका नेताहरुबाट भेट

आज मिति २०७४ साल भाद्र ३ गते शनिबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यू एवम्  प्रमुख राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरी हालै देशमा गएको वाढी, पहीरो र समसामयिक विषयमा चासो व्यक्त गर्दै वाढी पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनको उचित प्रवन्ध मिलाउन, प्राकृतिक प्रकोप न्युनिकरण गर्न अल्पकालीन र दीर्घकालिन रुपमा नदी प्रणालीलाई व्यवस्थित गर्न सरकारको ध्यान आकृष्ट गराउँदै राजनीतिक दल र सम्वद्ध सवै पक्षलाई सहयोग पुर्‍याउन आह्वान गर्नु हुँदै प्राकृतिक विपत्तीलाई रोकथाम गर्न पूर्व तयारी हुनु पर्ने कुरामा जोड दिनु भयो । आगो र बाढीबाट वढी प्रभावित हुने फुस र परालका घरहरुलाई विस्थापित गर्ने, नेपाली सँस्कृति र कलालाई महत्व दिएर नयाँ वस्ती विकास गर्ने तर्फ यथोचित ध्यान दिनु पर्ने कुरा औंल्याउदै मुसहर, चमार, डोमजस्ता सिमान्तकृत र अति विपन्न समुदायको व्यवस्थित वसोवास र जीविकाको यथोचित प्रवन्ध गराउने  कुरामा जोड दिनु भएको थियो । संविधानले परिकल्पना गरे अनुरुपको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण तर्फ ध्यान केन्द्रित गर्दै सुखी र समृद्ध नेपाल निर्माण गर्ने तर्फ ध्यान आकृष्ट गराउनु भएको थियो । राष्ट्रिय हितलाई सर्वोपरी राखेर असंलग्न परराष्ट्र नीतिको सिद्धान्तका आधारमा साझा परराष्ट्र नीति अवलम्वन गर्न पनि ध्यानाकर्षण गराउनु भयो । सम्माननीय राष्ट्रपतिज्यूले उच्च राजनीतिक समझदारीका साथ संविधान कार्यान्वयन गर्न सवै लाई आग्रह गर्नु भएको थियो ।

उक्त भेटघाट कार्यक्रममा सम्माननीय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाज्यू, विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीज्यू, पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालज्यू, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलज्यू, नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमज्यू र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठज्यूको उपस्थिति रहेको थियो ।

 

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता