सम्माननीय राष्ट्रपतिज्यूद्वारा प्राकृतिक प्रकोपबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त

सम्माननीय राष्ट्रपतिज्यूले विगत केही दिनदेखि परेको अविरल भिषण वर्षाले देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी जनधनको ठूलो क्षति भएकोप्रति गम्भीर ध्यानाकर्षण गर्नु भएको छ । प्रतिकूल मौसमका कारण हवाइ उडानमा कठिनाई परेको र सडक सञ्जालमा समेत कटान र डुबानले क्षति पुर्‍याई कतिपय ठाउँमा राहत तथा उद्धार कार्य अघि बढाउन व्यवधान खडा हुनु दुःखको विषय हो ।

जलवायु परिवर्तन र वातावरण विनाशका कारणले मौसममा आउने गडबडी तथा प्राकृतिक प्रकोपका दृष्टिले संवेदनशील भौगोलिक अवस्थितिमा रहेको मुलुकको नाताले नदी प्रणालीलाई व्यवस्थित गर्ने र वर्षायाममा प्रकोप सामना गर्न झन बढी तयारी, सावधानी,  सचेतता र सतर्कता अपनाउनुपर्ने अवस्था उत्पन्न हुँदै गएकोतर्फ सम्बद्ध सबैको ध्यानाकर्षण गराउनु भएको छ ।

हालैका दिनमा प्राकृतिक प्रकोपबाट ठूलो संख्यामा ज्यान गुमाउनु परेको छ, सयौँ घाइते बन्नु परेको छ, हजारौँ बेपत्ता हुनुपरेको छ, बाढी र पहिरोको चपेटामा परेका हजारौँले उद्धार र राहतको पर्खाइमा कष्टसाध्य जीवन विताउनु परेको छ, लाखौँ प्रभावित भएको अवस्था छ, सिंगो देशलाई दुःखित र स्तब्ध तुल्याएको छ । सरकारले उद्धार, राहत र पुनस्र्थापना गर्न योजना सहित अघि बढिरहेको सन्दर्भमा यस कार्यको उचित अनुगमन हुनुपर्नेतर्फ पनि ध्यानाकर्षण गराउँदै दुःखको यस घडीमा धैर्यता र साहस सँगाल्दै गैरसरकारी संघसंस्था, समुदाय, निजीक्षेत्र र सर्वसाधारणलाई पीडितको उद्धार, राहत र सुरक्षित वासस्थानको उचित प्रवन्ध मिलाउन आव्हान गर्नुभएको छ ।

साथै प्राकृतिक प्रकोप व्यवस्थापन तथा राहत र खोजीकार्यमा विशिष्टता हासिल गरेका रेडक्रस, स्काउट तथा अन्य सबै सम्बद्ध निकायलाई विशेष प्राथमिकताकासाथ  राहत, उद्धार र पुनस्र्थापना कार्यमा अघि बढ्न आव्हान गर्नु भएको छ । प्राकृतिक प्रकोपका कारण पिउने पानी र खाद्यान्नको उपभोग तथा औषधोपचारको प्राप्यतामा पर्ने नकारात्मक असर, बिरामी, बालबालिका, असक्त र जेष्ठ नागरिकलाई पर्ने सकस एवं सरुवा रोगजस्ता प्रकोपको नियन्त्रणमा सरकार, निजी क्षेत्रलगायत सबैले विशेष ध्यान पुर्‍याउनुपर्नेतर्फ जोड दिनुभएको छ ।

अन्त्यमा, बाढी, पहिरो लगायत प्राकृतिक प्रकोपमा परी अकालमा ज्यान गुमाएका मृतकका शोकसन्तप्त परिवारजनप्रति भावपूर्ण समवेदना व्यक्त गर्नु भएको छ ।

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता