श्री राधाकृष्ण प्राण–प्रतिष्ठा तथा मन्दिर उद्घाटन कार्यक्रममा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

लालबन्दी, सर्लाही

श्री राधाकृष्ण प्राण–प्रतिष्ठा तथा मन्दिर उद्घाटन समितिका अध्यक्ष,

माननीय सांसदहरु,

राधाकृष्ण मन्दिर निर्माणसँग आबद्ध महानुभावहरु,

सर्लाही जिल्लाका निवासीहरु,

भद्र महिला तथा सज्जनबृन्द !

प्राकृतिक सौन्दर्य, नदी, तालतलैया, पुरातात्विक, साँस्कृतिक तथा धार्मिक सम्पदाले सम्पन्न नेपालको एक महत्वपूर्ण जिल्ला सर्लाहीको सुन्दर नगरी लालबन्दीमा अवस्थित भागवतधाममा स्थानीय जनसमुदायको योगदानबाट निर्मित राधाकृष्ण मन्दिर उद्घाटनका लागि मलाई आमन्त्रण गर्नुभई यस क्षेत्रको अवलोकन र स्थानीय वासिन्दासँग प्रत्यक्ष भेटघाट गर्ने मौका दिनुभएकोमा हार्दिक धन्यबाद दिन चाहन्छु ।

यस मन्दिरको स्थापनामा बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुबाट जसरी स्वतःस्फूर्त ढंगबाट सहयोग र योगदान प्राप्त भएको छ यो आफैँमा प्रशंसनीय र उदाहरणीय छ ।

थोपा थोपा उठाएर घैला भरेजस्तै धेरै जनसमुदायहरुको लगन र परिश्रम जोडेर आस्थाको प्रतीकको रुपमा रहेको यो पवित्र मन्दिर खडा हुनु सहकार्यको एउटा अनुपम उदाहरण हो ।

यहाँहरुको यो मिहिनेत, श्रम र निष्ठाको सम्मिश्रणबाट खडा भएको मन्दिररुपी सामुहिकताको धरोहरबाट आगामी दिनमा सार्वजनिक विकासका लागि सरकारले जनताका नाममा पठाएको बजेट लक्षित समुदायमा संचालित विकास निर्माणका कार्यक्रमहरुमा अझ प्रभावकारीरुपमा पुर्‍याउन र सदुपयोग गर्न प्रेरणा मिल्नेछ भन्नेमा मलाई विश्वास जागेको छ ।

लामो राजनीतिक संक्रमणकालले समाजका विविध क्षेत्रमा नकारात्मक असर पारेको छ । कतिपय क्षेत्रमा अराजकतासमेत पैदा भएको छ । यसबाट हाम्रो सभ्यता, संस्कृति र मानवीयतामा समेत नकारात्मक असर पुग्न गएको छ । यहाँहरुको सत्कार्यबाट विभिन्न प्रकारका नकारात्मक असरहरुलाई न्यूनीकरण र क्रमशः अन्त्य गर्दै उच्च नैतिकतायुक्त, सभ्य, सद्भावयुक्त, सुखी र शान्त मानव समाज निर्माण गर्न सम्बद्ध सबै पक्षलाई सन्देश पुग्नेछ भन्ने मैले विश्वास लिएको छु । यसका लागि आयोजक, सहयोगी र जिल्लावासी सबै धन्यवादका पात्र हुनुहुन्छ ।

एकातर्फ ऐतिहासिक सम्पदाको प्राचुर्यता तथा साँस्कृतिक, धार्मिक र सामाजिक सद्भाव र एकताका दृष्टिले सर्लाही जिल्लाको महत्व रहेको छ भने अर्कातर्फ यहाँ रहेका प्राकृतिक स्रोत तथा सम्पदाको सदुपयोग हुनु पनि जरुरी छ ।

यसका निम्ति प्रकृति प्रदत्त यी राष्ट्रिय स्रोत तथा वैभवहरुको समुचित परिचालन, व्यावसायीकरण र आधुनिकीकरणका निम्ति समर्पित भएर लाग्नु त्यत्तिकै आवश्यक छ ।

कृषि विकास मूलतः तरकारी तथा पलफूल उत्पादन, उखु खेती र मत्स्य ब्यवसायले यस जिल्लालाई एक स्तरमा परिचित गराउन मद्दत पुगेको छ ।

यस सफलताका निमित्त म सर्लाहीका मिहिनेती किसानहरुलाई बधाइ दिन चाहन्छु र देशलाई आर्थिक रुपमा समृद्ध र आत्मनिर्भर बनाउन यहाँहरुले गर्नुभएको प्रयासको प्रशंसा गर्दै यस अभियानलाई अझ बढी सशक्त र क्रियाशील बनाउन सरकारी, निजी र गैरसरकारी क्षेत्रको भूमिकाको थप उपादेयतातर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।

यसै जिल्लाको चन्द«नगर गाउँमा अवस्थित नाढीमन ताल यहाँको मात्र नभई राष्ट्रिय महत्वको प्राकृतिक, साँस्कृतिक तथा धार्मिक सम्पदा समेत भएकाले यसको संरक्षण तथा प्रबद्र्धनमा उचित ध्यान दिएर एउटा उम्दा पर्यटकीय स्थलको रुपमा विकास गर्न सक्दा स्थानीयस्तरमा आय–आर्जन र रोजगारी सृजना गर्ने एउटा महत्वपूर्ण माध्यम बन्नेछ ।

नेपाल सरकारले यस तालको ऐतिहासिक र साँस्कृतिक महत्वलाई आत्मसात गरेर राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति मार्फत तालको संरक्षण तथा सम्बद्र्धन समेत गर्दै आएको छ । यसतर्फ जिल्लावासी र सम्बद्ध सबैपक्षको ध्यान पुग्नेछ भन्ने मैले विश्वास लिएको छु ।

अन्तमा, प्रतिकूल मौसमका बावजूद पनि यहाँ उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिन चाहन्छु र बिशेषतः श्रीकृष्ण जन्माष्टमी, तीज, जितिया र गौरा पर्वका अबसरमा यहाँहरु सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु ।

धन्यवाद !

२०७३ साल भाद्र १० गते शुक्रबार