लोकसेवा आयोगको ६६ औँ वार्षिकोत्सव मूल समारोहको कार्यक्रममा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

६६ औँ वार्षिक उत्सव मूल समारोहका अध्यक्ष तथा लोकसेवा आयोगका अध्यक्ष,

सम्माननीय प्रधानमन्त्री,

राज्य व्यबस्था समितिका माननीय सभापति,

लोकसेवा आयोगका सदस्यहरु,

राष्ट्रसेवकहरु,

भद्र महिला तथा सज्जनबृन्द !

लोकसेवा आयोगको ६६ औं वार्षिक उत्सव समारोहका अवसरमा आयोजित कार्यक्रममा शरिक भइ यस गौरवशाली संवैधानिक निकायको उपादेयता, उपलब्धि र योगदानबारे स्मरण गर्न पाउँदा मलाइ खुशी लागेको छ । न्यायपूर्ण, समृद्धशाली तथा आर्थिक र सामाजिक रुपले सशक्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भविष्य र सपनालाई साकार पार्न आगामी दिनमा आयोगको गहन भूमिका रहेको प्रसंगमा यस्तो समारोहको गरिमा अमm बढेको छ । आफ्नो लामो ६५ बर्षको यात्राका दौरान आयोगले अनेकौँ आरोह अवरोह पार गरिसकेको छ । नियुक्ति, पदस्थापना, सरुवा, बढुवा र सम्बद्ध विषयमा निश्पक्षता र पारदर्शिताको सिद्धान्त अनुरुप राष्ट्रसेवामा सर्बसाधारणलाई आकर्षित गर्न र आमजनताको मन जित्न आयोग सफल भएको छ । विगतको लामो अनुभवको आत्मसमिक्षा गर्दै आफ्नो कर्तव्य पालनमा देखिएका कमीकमजोरीलाई हटाउन र सवल पक्षलाई अझ सुदृढ पार्न पनि यस्ता कार्यक्रमले अवसर प्रदान गरेको छ भन्ने मलाई लागेको छ ।

लोकसेवा आयोग नेपालको संबैधानिक आयोगहरुमध्ये सबैभन्दा पुरानो र अग्रणी संस्था हो । नेपालमा जारी भएका सबै संविधान र प्रशासनसँग आबद्ध ऐन, नियम र प्रशासन सुधार आयोगका प्रतिवेदनहरु समेतमा लोकसेवा आयोेगको अहं भूमिका प्रतिविम्वित भएको पाइन्छ । नेपालको संबिधान २०७२ जारी भइ राज्य पुर्नसंरचनातर्फ जान लागेको प्रसंगमा आयोगको कार्य र परामर्श दुबैको दायरा अझ  बढी ब्यापक हुन पुगेको छ ।

जनताबाट निर्वाचित भइ बनेको सार्वभौम संविधान सभाको अत्यधिक बहुमतबाट नयाँ संविधान जारी भइ कार्यान्वयनको तहमा रहेको र अब देशको सम्पूर्ण ध्यान आर्थिक सामाजिक रुपान्तरणतर्फ केन्द्रित भएको प्रसंगमा देशको स्थायी सरकारका रुपमा लिइने मुलुकी प्रशासनलाई अझ स्तरीय, अनुशासित, चुस्त, जनउत्तरदायी र जनताको बढ्दो आकांक्षा अनुरुप सेवा दिनसक्ने बनाउनु नै लोकसेवा आयोगको प्रमुख चुनौती रहेको छ । वर्तमान समयमा सरकारी सेवाप्रति युवाहरुको बढ्दो आकर्षण, सूचना प्रविधिको तीब्र विकास तथा बढ्दो प्रतिश्पर्धा जस्ता विषयलाई सम्बोधन गर्दै आयोगले आफूलाई थप सवल तथा अद्यावधिक गर्नु आजको टड्कारो आवश्यकता हो ।

सीमित जनशक्ति, प्रविधि र सुविधाको परिधि र अन्य कठिनाइका बावजूद आयोगले हालसम्म हासिल गरेका उपलब्धि र सफलता सराहनीय छन् । एकातर्फ सवल र सक्षम जनशक्तिको बढ्दो आवश्यकता रहेको छ भने गत वर्षको विनाशकारी भूकम्पका कारण अन्य सरकारी भौतिक संरचनासहित लोकसेवा आयोगका क्षतिग्रस्त पूर्वाधारको पुर्नर्निमाणका लागि सरकारका तर्फबाट ध्यान जानु त्यत्तिकै जरुरी छ । आगामी दिनमा आपूmलाई थप मर्यादित र विश्वसनीय बनाउँदै सरकार र जनता दुवैसँग सुमधुर सम्बन्ध र समन्वय कायम गरी आफ्नो निर्धारित लक्ष्य हासिल गर्ने कार्यमा आयोगको उत्तरोत्तर प्रगतिका लागि शुभेच्छा दिन चाहन्छु । यसै अवसरमा कार्यकुशलताको अभिबृद्धिका आधारमा प्रोत्साहनस्वरुप पुरस्कृत हुने उत्कृष्ट कर्मचारीहरुलाई बधाइ पनि दिन चाहन्छु ।

धन्यवाद !

२०७३ साल असार १ गते बुधवार