राष्ट्रिय खेलकूद परिषद्वारा आयोजित आठौँ राष्ट्रिय राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय खेलकूद प्रतियोगिता–२०७२ को उद्घाटन समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

समारोहका अध्यक्ष,

माननीय मन्त्री,

उपस्थित अन्य विशिष्ट व्यक्तित्व,

आयोजक संस्थासँग आबद्ध पदाधिकारी,

सहभागी खेलाडीहरु,

भद्र महिला तथा सज्जनवृन्द !

राष्ट्रिय खेलकूद परिषद्द्वारा आयोजित आठौँ राष्ट्रिय राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय खेलकूद प्रतियोगिता–२०७२ को यस समारोहमा उपस्थित भई खेलकूद क्षेत्रसँग आबद्ध तपाइहरुसँग भेटघाट गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ । यस प्रतिश्पर्धामा सहभागी हुनुहुने सबै खेलाडीहरुलाई अभिवादन गर्दै तपाईहरु सबैलाई शुभकामना दिन चाहन्छु ।

विद्यालय तहमा संचालित रनिङ्ग शिल्ड खेलकूद प्रतियोगिताले विद्यार्थीहरुलाई विभिन्न रुचिका खेलकूदमा सहभागिता जनाउने वातावरण तयार पारी आफ्नो प्रतिभालाई प्रस्फूटन गर्ने अवसर प्रदान गर्दछ । केही वर्ष यता देशमा खेलकूदको विकासमा दिइएको महत्वको फलस्वरुपः फूटबल, क्रिकेट, तेक्वान्दो, म्याराथन, पौडी, एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, उसुजस्ता खेलमा नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्टता हासिल गर्ने क्रम बढ्नु सन्तोषको विषय हो । खेलकूदका क्षेत्रमा संलग्न सम्बद्ध पक्ष अझ बढी सक्रियता र मेहनतकासाथ लाग्ने हो भने हाम्रो खेलकूद क्षेत्रले केही वर्षभित्रै ठूलै फड्को मार्ने आशा गर्न सकिन्छ। खेलकूदको विकासमा सरकार, खेलाडी, प्रशिक्षक, खेलकूदसम्बन्धी संघसंस्था एकापसमा हातेमालो गर्दै अगाडि बढे नेपाली खेलाडीहरुको मनोबल उच्च भई अन्तर्राष्ट्रिय जगतमा अझ बढि कीर्तिमान स्थापित गर्न सकिनेछ । यसतर्फसम्बद्ध सबै पक्षको ध्यान आकर्षण गराउन चाहन्छु ।

समष्टिगतरुपमा भन्ने हो भने खेलकूद शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासको द्योतक हो । साथै राष्ट्रको विकास र समृद्धिको पहिचानका लागि देशले खेलकूदमा हासिल गरेको उपलब्धि महत्वपूर्ण सूचक हुनसक्छ । यस अर्थमा राष्ट्रिय खेलकूद परिषद्को ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ नारा प्रासंगिक देखिन्छ । यस नारालाई दरोसँग आत्मसात गर्दै समग्र खेलकूद क्षेत्रको विकासमा तल्लीन भई परिषद्ले अन्तर्राष्ट्रिय जगतमा आफ्नो प्रतिष्ठा बढाउन अग्रसर हुनु पर्दछ ।

युवा देशको भविष्य भएकाले तीनको शारीरिक तथा मानसिक विकासका लागि खेलकूदमा बढिभन्दा बढी संलग्न गराउनु पर्दछ । खेलकूदका अन्तर्राष्ट्रिय मूल्यमान्यता र मापदण्ड तथा खेलका प्रकृतिलाई दृष्टिगत गरी राष्ट्रिय खेलकूद नीति, योजना र कार्यक्रम तर्जूमाका साथ खेलकूदका क्षेत्रमा अझ बढी जनशक्ति तयार पार्नु अति आवश्यक छ । खेल नियमले बाँधिएको यस्तो सक्षम जनशक्तिले अनुशासित र मर्यादित समाज निर्माण गर्न सहयोग गर्नुका साथै देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन समेत मद्दत गर्नेछ ।

बालबालिकाको शारीरिक तथा मानसिक विकासका निम्ति विद्यालयस्तरमा विविध अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकूद प्रतियोगिताहरु सघनरुपले संचालन गर्नुपर्दछ । हरेक विद्यालयले आफ्नो क्षेत्रको भौगोलिक क्षेत्रको जलवायु, परम्परा तथा साँस्कृतिक भिन्नताका आधारमा उपयुक्त खेलहरु समावेश गरी प्रतियोगिताहरु संचालन गर्दै जाने हो भने विद्यार्थीहरुको एउटा ठूलो पंक्ति खेलप्रेमी हुनेछ र यसले अभिभावकहरुसमक्ष असल सन्देशबाहकको भूमिका निर्वाह गर्नेछ । अनि खेलप्रेमी उक्त पंक्तिको एउटा हिस्सा प्रसिद्ध खेलाडीका रुपमा विकास हुने संभावना पनि त्यत्तिकै रहन्छ । अर्कोतर्फ खेलकूदमा हुने प्रतिश्पर्धाले संयमित, अनुशासित र लक्ष्यप्रति एकाग्र हुन सिकाउँछ जसले स्वस्थ्थ जीवनको प्रबर्द्धन गर्दै व्यक्तित्व विकासमा भूमिका खेलेको हुन्छ ।

राज्यले खेलकूदमा प्राथमिकता दिएर अघि बढ्दा नेपाली खेलाडीहरुले पनि विश्वमा कीर्तिमान कायम राख्न सक्दछन् भन्ने कुरा केही वर्ष यता हाम्रा खेलाडीहरुले हासिल गरेका सफलताबाट प्रष्ट हुन्छ । हामीले हाम्रा परम्परागत खेलहरुलाई परिष्कृत गर्दै अन्तर्राष्ट्रिय जगतमा ती खेलहरुलाई समावेश गराउन सक्ने हो भने एकातिर देशको इज्जत र प्रतिष्ठा बढ्छ भने हाम्रा खेलाडीहरुले थप कीर्तिमान पनि राख्न सक्दछन् । राज्यले सकारात्मक प्रोत्साहनका रुपमा खेलाडीहरुको जीवनवृत्ति र स्तरोन्नतिका विभिन्न अवसर प्रदान गरेर खेलाडीहरु खेल क्षेत्रबाट विमूख हुने अवस्थाबाट पनि रोक्नु पर्दछ । उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत र सम्मान गर्न सम्बद्ध पक्षको ध्यान गम्भीररुपले आकृष्ट हुनुपर्दछ । यसबाट खेलाडीहरुलाई राम्रो प्रोत्साहन मिल्नेछ ।

गत वर्ष गएको विनाशकारी भूकम्पले खेलकूद कार्यक्रम संचालन गर्ने संरचनाहरु भत्काएकाले यथाशीघ्र यस्ता भौतिक सुविधाको जिर्णोद्दार र पुनर्निर्माण गर्नुपर्दछ । यसैगरी बढ्दो आवश्यकताअनुरुप खेलकूदका नयाँ संरचना र पूर्वाधारसमेत निर्माण गर्दै जानु पर्दछ ।अनेकौँ प्रतिकूलताका बाबजूद पनि ७५ जिल्लामा नै राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय खेलकूद प्रतियोगिता सम्पन्न गर्नु र फाइनल खेलका रुपमा यसप्रकारको प्रतियोगिता र कार्यक्रम गर्नु सराहनीय कदम हो ।

पौराणिक कालदेखि नै विभिन्न खेलहरुको विकास गरेर मानिसलाई स्वस्थ्य र अनुशासित राख्न कोशिस भएको पाइन्छ । हाम्रो देशमा खेल पर्यटनको प्रशस्त संभावना भएकाले राज्यले यसतर्फ यथोचित ध्यान दिँदै देशको अर्थतन्त्र सुदृढ पार्न भूमिका खेल्न सक्ने अवस्था सृजना गर्नुपर्दछ । विशेषतः भौगोलिक र जैविक विविधताले भरिएको हाम्रो मुलुकको हिमाली क्षेत्रमा आयोजना गरिने साहसिक खेलकूदमा सहभागी हुन अन्तर्राष्ट्रिय जगत लालायित देखिन्छ ।

हाम्रो देशमा खेलकूदका निम्ति आवश्यक पर्ने तालीम केन्द्रहरुको अभाव छ भने भएकालाई सुदृढ बनाउँदै प्राज्ञिक उपाधि दिने व्यवस्था मिलाउन पनि त्यत्तिकै आवश्यक हुन्छ । साथै सरकारलगायत अन्य संगठित क्षेत्रले खेलकूदमा अब्बल सहभागीहरुलाई रोजगारीसहित थप सुविधा दिने नीति अँगाल्नु पर्दछ । यसो भएमा यो क्षेत्र प्रोत्साहित र सम्मानित हुन्छ र खेलप्रतिको आकर्षणसमेत बृद्धि हुन्छ ।

आज यस समारोहमा मलाई आमन्त्रण गरेर नेपाली खेलप्रेमीहरु तथा खेलकूदसम्बद्ध सबैसँग भेटघाट गर्ने अवसर जुटाइदिएकोमा आयोजकहरुलाई पुनः धन्यवाद दिँदै यस प्रतियोगिताको पूर्ण सफलताको कामना गर्दछु ।

धन्यवाद !

२०७३ साल जेष्ठ १९ गते बुधबार