राष्ट्रपतिसमक्ष उपराष्ट्रपति र प्रधानमन्त्रीबाट शिष्टाचार भेट

मिति २०७३ साल भदौ २८ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्यू र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले शिष्टाचार भेट गर्नुभयो । भेटमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय उपराष्ट्रपतिज्यूले आफू असंलग्न राष्ट्रहरुको सत्रौं शिखर सम्मेलनमा भाग लिन भोलि मिति २०७३ साल भदौ २९ गते बुधबारका दिन भेनेजुयलातर्फ जान लागेको अवगत गराउनु भयो भने सम्माननीय प्रधानमन्त्रीज्यूले आफू मिति २०७३ भदौ ३० गते बिहीबारदेखि मित्रराष्ट्र गणतन्त्र भारतको भ्रमण गर्न लागेको बताउनुहुँदै भारत भ्रमणको कार्यक्रम लगायत भ्रमणका विविध पक्ष तथा समसामयिक परिस्थितिका बारेमा अवगत गराउनु भयो । भेटका क्रममा सम्माननीय राष्ट्रपतिज्यूले उच्चस्तरीय बैदेशिक भ्रमण हुन लागेकोमा खुसी व्यक्त गर्नुहुँदै असंलग्न राष्ट्रहरुको सत्रौं शिखर सम्मेलनको पूर्ण सफलताको कामना गर्नुभयो र दुबै भ्रमण फलदायी हुन सकून् भन्ने शुभेच्छासहित सम्माननीय उपराष्ट्रपतिज्यू र सम्माननीय प्रधानमन्त्रीज्यू दुबैलाई शुभयात्राको कामना गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतज्यू, नेपाल सरकारका मुख्य सचिवज्यू, राष्ट्रपतिको कार्यालयका सचिवज्यू, परराष्ट्र मन्त्रालयका सचिवज्यू लगायत नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति थियो ।