महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयद्वारा राष्ट्रिय बालदिवस २०७३ को अवसरमा आयोजित कार्यक्रममा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

माननीय मन्त्री,

माननीय राज्यमन्त्री,

माननीय सांसदहरु,

प्यारा बालबालिकाहरु,

आज सम्मानीत  हुनुहुने महानुभावहरु,

भद्र महिलातथा सज्जनवृन्द !

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयद्वारा आयोजित राष्ट्रिय बालदिवस मूल समारोहको कार्यक्रममा सहभागी भई राष्ट्रका अमूल्य निधि र भविष्य निर्माणका आधारका रुपमा रहेका देशभित्र र बाहिर रहने हाम्रा प्यारा बालबालिकाहरुलाई लक्षित गरी संवोधन गर्न पाउँदा मलाई खुशी लागेको छ ।

गतवर्ष जारी भएको नेपालको संविधानले बालबालिकाको सर्वोत्तम हितलाई स्वीकार गर्दै मौलिक हक अन्तर्गत बालबालिकाका हक अधिकार सम्बन्धमा पर्याप्त प्रावधानहरुको ब्यवस्था गरेको छ, जुनहामी सबै नेपालीका लागि गौरबको बिषय हो ।

“सम्बर्द्धन बालअधिकारकोः कार्यान्वयन संविधानको” भन्ने मूलनाराका साथ मनाउन लागिएको यस बर्षको राष्ट्रिय बालदिवसको उपलक्ष्यमा समस्त नेपाली बालबालिकाप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

आजको दिन बालबालिकाका लागि बिगतमा गरिएका कार्यहरुको उपलब्धि र कमीकमजोरीको मूल्यांकन गर्ने र आगामी दिनमा उनीहरुप्रतिको दायित्व पूरा गर्न प्रतिबद्धता व्यक्त गर्ने महत्वपूर्ण अवसरका रुपमा लिएको छु । बालबालिकाको विकासमा केही सकारात्मक उपलब्धि भएपनि बढ्दो जनआकांक्षालाई दृष्टिगत गरी यतिमा सन्तोष मान्न सकिने अवस्था छैन ।

न्यूनतम स्वास्थ्य सुविधाको अभावका कारण कैयौँ बालबालिका जन्मनुअघि नै मृत्युको शिकार हुने र कतिपय अवस्थामा आवश्यक स्याहार सुसारको कमीले जन्मेपछि मृत्युवरण गर्ने दुःखदायी घटना हाम्रो समाजमा अझ व्याप्त छ ।

थुप्रै बालबालिका स्कूल, घर र समुदायबाट नै शारीरिक तथा मानसिक हिंसामा परेका छन् । देशले राजनीतिक क्षेत्रमा हासिल गरेको आमूल परिवर्तनका बाबजूद बालबालिकाको बेचबिखन र जोखिमपूर्ण श्रमको उन्मूलन हुन सकेको छैन । कतिपय बालबालिकाहरु गतवर्षको विनाशकारी भूकम्पका कारण अझै पीडित र घर बाहिर नै असुरक्षित जीवनयापन गर्न बाध्य छन् भने कति गरिबी र सामाजिक कुरीतिका कारण शिक्षा, स्वास्थ्य र सुरक्षित बाताबरणबाट टाढा छन् ।

नेपालमा परम्परागत रुपमा प्रचलनमा रहेका बालविवाह, दाईजो प्रथा, बालश्रम जस्ता बिभिन्न प्रकारका हानिकारक प्रवृत्तिहरु यद्यपि बिद्यमान छन् । यस्ता सामाजिक कुरीतिकाकारण वालवालिकाका हकअधिकार कुण्ठित भइरहेका छन् ।

उनीहरु शारीरिक तथा मानसिक हिंसाको कुचक्रमा परी कतिपय अवस्थामा ज्यान समेत गुमाउन पुगेको तीतो यथार्थता हाम्रो सामू रहेको छ ।

यस्ता हिंसाजन्य गतिबिधिलाई संविधानले अपराधको रुपमा स्वीकार गरी पीडितलाई क्षतिपूर्तिको हकको व्यवस्था गरेको छ । यसको उचित कार्यान्वयन गर्न सकिएमामात्र सही अर्थमा बालबालिकाको हकअधिकारको संरक्षण हुन सक्दछ । बालबालिकालाई आफ्नो क्षमताको विकास गरी सक्षम बनाउन उनीहरुलाई उपयुक्त पारिवारिक परिवेश प्रदान गर्नु आवश्यक हुन्छ । बालबालिकालाई शिक्षा र स्वास्थ्यको सुविधा र उपयुक्त पारिवारिक वातावरणमा हुर्कन पाउने अवस्थाको श्रृजना गर्ने काममा हामी सबैले ध्यानदिनु जरुरी छ ।

यस कार्यमा अवश्य पनि राज्यको दायित्व बढी रहन्छ । आज बालबालिकामा गरेको लगानीबाट भोलिका दिनमा हामीलाई चाहिने चरित्रवान, दक्ष तथा उत्पादनशील एवं  उर्जाशील जनशक्तिको निर्माण सम्भव हुन्छ । आजका बालबालिका भोलिका महत्वपूर्ण मानव संशाधनको कोटीमा पर्ने भएकाले उनीहरु मुलुकको सामाजिक तथा आर्थिक विकासको आधारशीलाको रुपमा रहेका छन् । त्यसैले शिक्षा र स्वास्थ्यमा लगानी बढाऔँ सामाजिक तथा आर्थिक विकासको जग बसालौँ भन्ने मान्यतालाई आत्मसात गर्दै यसको कार्यान्वयनमा जुट्नु जरुरी भैसकेको छ ।

देशमा सामाजिक सद्‌भाव कायम गर्दै दीगो शान्ति प्राप्तगर्न हरेक पुस्ता शारीरिक र मानसिक रुपले सक्षम हुन जरुरी छ र यसका लागि बालबालिका बचाउ, संरक्षण, विकास र सहभागिता जस्ता आधारभूत बालअधिकारको संरक्षण र प्रबर्द्धन गर्ने कार्यक्रम कार्यान्वयनमा सवैको ध्यान जानु जरुरी हुन्छ । यसका साथै बालअधिकारसँग सम्बन्धित सेवाहरुमा प्रत्येक बालबालिकाको पहुँच सुनिश्चित हुनु पर्दछ ।

बालबालिकाको विकास एक वहुआयामिक र संवेदनशील विषयहो । गर्भावस्थादेखि पहिलो तीनवर्ष अर्थात् सुनौलो हजार दिनआमा र नवजातशिशु दुबैका लागि महत्वपूर्ण अवधि हो । तसर्थ, बालबालिकाको विकास र महिलाउत्थान योजनाले यो सुनौलो हजार दिनलाई प्राथमिकतामा राख्नुपर्दछ भन्ने मेरो धारणा छ ।

अन्तमा, आजको यस दिवसको महत्वपूर्ण अवसरमा सम्पूर्ण वालवालिकालाई पुनः बधाई र शुभकामना व्यक्त गर्दै कार्यक्रममा सहभागी हुने अवसर दिनु भएकोमा सम्बन्धित सबैलाई धन्यवाद दिन चाहन्छु र आज सम्मानीत हुनुहुने सबैलाई बधाई समेत दिन चाहन्छु ।

धन्यवाद !

२०७३ साल भदौ २९ गते बुधवार