बालबालिकाको व्यक्तित्व विकासमा सामुदायिक तथा संस्थागत विद्यालय विषयक छलफल कार्यक्रम सम्पन्न

काठमाडौँ, १६ फागुन २०७७ ।
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको बताउनु भएको छ ।
राष्ट्रपति भवन, महाराजगञ्जमा आइतबार आयोजित ‘बालबालिकाको व्यक्तित्व विकास र सामुदायिक तथा संस्थागत विद्यालय’ विषयक छलफल कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूले ‘सबैका लागि शिक्षा’को अवधारणा कार्यान्वयन गर्दै शिक्षा क्षेत्रमा राज्य र अभिभावकले गर्ने लगानीअनुरुपको प्रतिफल हासिल गर्नुपर्ने कुरा बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाको व्यक्तित्व विकासमा विद्यालय, शिक्षक र अभिभावकको सबैभन्दा ठूलो भूमिका हुन्छ । सम्पूर्ण समाज यसको महत्वपूर्ण सरोकारवाला पक्ष हो । तसर्थ, विद्यालय र सामाजिक संगठनहरूले बालबालिकाको चरित्र निर्माणमा योगदान गर्नुपर्दछ भने सरकारका सम्बन्धित निकायहरूले यस प्रक्रियाको नेतृत्व र सहजीकरण गर्नुपर्दछ ।”

नेपालमा शिक्षाको विस्तार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न तथा शैक्षिक पूर्वाधार विकास गर्नका लागि नीतिगत, कानुनी तथा कार्यक्रमगत रूपमा पर्याप्त व्यवस्था रहेको चर्चा गर्दै यी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सम्बद्ध सबै पक्षले ध्यान दिन सके चाँडै प्रतिफल हासिल गर्न सहयोग पुग्ने धारणा राष्ट्रपतिज्यूले व्यक्त गर्नुभयो ।

बालबालिकाको व्यक्तित्व विकासका लागि पहिलो पाठशालाको रूपमा रहेको घरपरिवारसहित सुरक्षित सामाजिक वातावरण अनिवार्य रहेको उल्लेख गर्दै राष्ट्रपतिज्यूले समाजमा चुनौतीको रूपमा देखिएको बालदुव्र्यवहार र बालयौन हिंसालाई न्यूनीकरण गर्न आधारभूत तहदेखि नै विद्यार्थी, शिक्षक र समुदायको सामूहिक पहल जरुरी रहेकोमा जोड दिनुभयो ।

माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री कृष्णगोपाल श्रेष्ठले छलफल कार्यक्रममा प्राप्त भएका सुझावलाई सरकारको कार्यक्रममा समावेश गरी यथाशीघ्र कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । सामुदायिक र संस्थागत विद्यालयका आधारभूत संरचनामा समयानुकूल सुधार गरी शिक्षालाई जीवनोपयोगी बनाउन सरकार क्रियाशील रहेको उहाँले बताउनु भयो । कोभिड–१९ महामारीबाट प्रभावित भएका विद्यालयहरूको समस्याप्रति सरकार संवेदनशील भएको बताउँदै मन्त्रीज्यूले ती विद्यालयका समस्या समाधान गर्न आवश्यक पहल गर्ने उल्लेख गर्नुभयो ।

विद्यार्थीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासका लागि विद्यालय तहदेखि नै नैतिक र नागरिक शिक्षालाई अनिवार्य बनाउनु पर्नेतर्फ सहभागी व्यक्तित्वहरूको सुझाव रहेको थियो । लैंगिक हिंसा र बालयौन दुव्र्यवहारलाई न्यूनीकरण गर्न राष्ट्रिय अभियानको आवश्यकता रहेको कुरामा पनि सबैले जोड दिनुभएको थियो ।

शिक्षा क्षेत्रका विभिन्न सरोकारवाला पक्षहरूको सहभागिता रहेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री कृष्णगोपाल श्रेष्ठ सहित संसद सदस्यहरू, जिसस महासंघका अध्यक्ष श्री सीता सुन्दास, नगरपालिका संघका अध्यक्ष श्री अशोक व्याञ्जु, गाउँपालिका महासंघका अध्यक्ष श्री होमनारायण श्रेष्ठ, अभिभावक संघ, राष्ट्रिय शिक्षक महासंघ र शिक्षासँग सम्बद्ध विभिन्न संघसंस्था एवं अनुसन्धानकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल स्काउटका प्रमुख श्री लोकबहादुर भण्डारी, राष्ट्रिय सेवा दल (एनसीसी) का संयोजक श्री रघुराम भण्डारी, नेपाल बाल संगठनका अध्यक्ष श्री विद्या न्यौपाने र बाल कल्याण परिषद्का कार्यकारी निर्देशक श्री मिलन धरेलको समेत उपस्थिति थियो ।
यसअघि पनि गत फागुन ६ गने बिहीबार महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम राष्ट्रपति कार्यालयमा आयोजना गरिएको थियो ।