जैविक विविधता शैक्षिक उद्यानको समुद्घाटन समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

माननीय मन्त्रीहरु,

नेपालका लागि संयुक्त अधिराज्यका राजदूत महामहिम रिचार्ड मोरिस,

नेपाल सरकार र राष्ट्रिय वनस्पति उद्यानका पदाधिकारीहरु,

भद्र महिला तथा सज्जनवृन्द !

प्राकृतिक सौन्दर्यले सुसज्जित तथा पवित्र फूलचोकी पर्वतको काखमा अवस्थित सौम्य हावापानी भएको साँस्कृतिक र धार्मिक महत्वको यस गोदावरी क्षेत्रमा चौवन्न वर्षअघि स्थापना भएको राष्ट्रिय वनस्पति उद्यानमा नेपाल र संयुक्त अधिराज्यबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पूरा भएको सुखद अवसर पारी जैविक विविधता शैक्षिक उद्यान निर्माण भएकोमा खुशी लागेको छ ।

यो उद्यान स्थापना गर्न योगदान पु¥याउने बन तथा भूसंरक्षण मन्त्रालय,  वनस्पति विभाग, राष्ट्रिय वनस्पति उद्यानलगायत सबैलाई धन्यवाद दिँदै नेपाल र संयुक्त अधिराज्यबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पूरा भएको सुखद अवसरमा दुवै देशका जनतालाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जैविक विविधताले भरिपूर्ण हिमाल, पहाड र तराईको सम्मिश्रणबाट बनेको हाम्रो नेपालको हिमाली इलाका, समशितोष्ण क्षेत्र र उष्ण प्रदेशलाई प्रतिनिधित्व गर्ने विभिन्न अठासी वनस्पति प्रजातीहरु संलग्न गरी यो उद्यान बनाइएको छ ।

एक दशमलव तीन हेक्टर क्षेत्रफलको यो उद्यानको स्थापनामा लगभग तीनसय पचास वर्ष पहिले स्थापना भएको संयुक्त अधिराज्यका एडिन्बरास्थित शाही वनस्पति उद्यानसँगको सहकार्यले यो उद्यान नेपाल र संयुक्त अधिराज्यबीचको लामो परम्परागत सम्बन्धको प्रतीक पनि बनेको छ ।

हाम्रो देश जैविक विविधताका दृष्टिले ज्यादै सम्पन्न छ । सातहजार भन्दा बढी विभिन्न जाती र प्रजातीका वनस्पति यहाँ छन् भने राष्ट्रिय वनस्पति उद्यानले करीब पाँच हजार वनस्पति प्रजातीहरुको नमूना  (हर्वेरियम) संकलन गरी वनस्पति अध्ययन, अनुसन्धान र संरक्षणको क्षेत्रमा ठूलो योगदान गरेको छ ।

जैविक विविधता शैक्षिक उद्यानको स्थापनाबाट वैज्ञानिक, विद्यार्थी, पर्यावरणकर्मी तथा सर्वसाधारणसमेतलाई खाद्य, जडिबुटी, इन्धन र आश्रयको दृष्टिले वनस्पति र मानवबीचको युगौँदेखिको अन्योन्याश्रित सम्बन्धबारे सचेत गराउन मद्दत पुगेको छ ।

यसका साथै पर्यावरण पर्यटनको विकास र भविष्यका सन्ततिका लागि वनस्पति सम्पदाको संरक्षण र विकासको महत्व सम्बन्धमा सबैलाई जागरुक बनाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।

मलाई विश्वास छ यस उद्यानको स्थापनाले जलवायु परिवर्तनबाट आएका नकारात्मक प्रभावसँग जुध्न र प्रकृति संरक्षण र सम्बद्र्धनमा लाग्न ठूलो सघाउ पुर्‍याउनेछ ।

अन्तमा, जैविक विविधता शैक्षिक उद्यान स्थापना तथा संचालनमा संलग्न सबैलाई धन्यवाद दिन चाहन्छु ।

धन्यवाद !

२०७३ साल असोज ६ गते बिहिबार