जितिया पर्व, २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपाली महिलाहरुले पारिवारिक सुख, खुशीयाली र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाइने सांस्कृतिक पर्व जितियाको सुखद् अवसरमा जितिया पर्व मनाउन हुने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति एवम् समृद्धि कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस पर्वमा महिलाहरुले आफ्नो परिवारजनको सुस्वास्थ एवम् समृद्धिका लागि ब्रत बसेर पूजा आराधना गर्ने गर्दछन् । विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्‍भाव कायम गर्न सहयोग पुर्‍याइरहेका यस्ता चाडपर्वहरु मनाउँदा तीनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ । बहुजाति, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने बिभिन्न चाडपर्वहरुले आफ्नै मूल्य र मान्यताहरु सहित संस्कृति, कला, भेषभूषा, गीतसंगीतलाई संरक्षण गर्ने कुरा नै हाम्रो मौलिकता बनेको छ ।

अन्तमा, महिलाहरुको महत्वपूर्ण पर्व जितियाले सामाजिक, साँस्कृतिक एकता तथा पारिवारिक सु-सम्बन्ध स्थापना गर्न सफल होस् भन्‍ने कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

२०७५ असोज १६ गते मंगलबार ।