सम्माननीय राष्ट्रपतिज्यूले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा दिनुभएको शुभकामना सन्देश

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबर २०१८ (२०७५ साल असोज १५)  को अवसरमा राष्ट्रका सम्पूर्ण आदरणीय ज्येष्ठ नागरिकहरूको शान्त, सुखी, स्वस्थ र सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस वर्षको ज्येष्ठ नागरिक दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले “Celebrating Older Human Rights Champions” “ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ” भन्ने सन्देश निर्धारण गरेको छ । यस सन्देशलाई सार्थक तुल्याउन हामीले सबै क्षेत्रमा ज्येष्ठ नागरिकको सम्मान गर्न जरूरी छ । यस अवसरमा म ज्येष्ठ नागरिकको हक अधिकारका लागि अमुल्य योगदान दिने सम्पूर्ण अभियन्ताहरूलाई उच्च सम्मान र आदर व्यक्त गर्दछु । यस दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र विभिन्न संघसंस्थाको संयोजनमा देशव्यापी रूपमा ज्येष्ठ नागरिकको संरक्षण र सम्बर्द्धन सम्वन्धी विभिन्न कार्यक्रमहरू आयोजना गरि मनाउन लागेको जानकारी पाउँदा मलाई खुसी लागेको छ ।

जीवनको अधिकांश समय क्रियाशील रही आफ्नो ज्ञान, सीप, अनुभव र ऊर्जालाई समाजोपयोगी कार्यमा लगानी गर्नु भएका ज्येष्ठ नागरिकहरू निश्चय नै राष्ट्रका धरोहरका रूपमा आदरणीय हुनुहुन्छ । जेष्ठ नागरिक ज्ञानका महत्वपूर्ण स्रोत भएकाले उनीहरुको विचार समाजमा ल्याउनु पर्दछ ।

नेपालको संविधान, कानून र नीतिहरुले ज्येष्ठ नागरिकको हक अधिकारलाई संरक्षण गरेका छन् । यस अवसरमा नेपालको संविधान, २०७२ को मौलिक हकको महलमा राखिएको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु पर्ने आजको टड्कारो आवश्यकता भएको मैले महसुस गरेको छु । संविधानको भावनाको सम्मान गर्दै राज्यले सीमित स्रोतको बाबजुद पनि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र विभिन्‍न सेवा सुविधा प्रदान गरिरहनु निश्चय नै खुशीको विषय हो । यस्ता सामाजिक सुरक्षाका सुविधाहरु राज्यले आफ्नो क्षमताअनुसार बढाउँदै लैजानेछ भन्‍ने मैले अपेक्षा गरेको छु । यसैगरी सन्तानले बृद्ध हजुरबा, हजुरआमा र मातापितालाई पालनपोषण गर्नुपर्ने कानून राज्यले बनाउनु पर्दछ ।

माया, ममता र करुणाका सागर रहेका जेष्ठ नागरिकहरुको संरक्षकत्व प्राप्त गरी हजुरबा, हजुरआमा, आमाबाबु, छोराछोरी र नातिनातिना एउटै परिवारमा अटाउने हाम्रो पूर्वीय दर्शनमा आधारित आदर्श परिवार बनाउन आजको दिनले सम्बद्ध सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित पुनः एकपटक आदरणीय ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैसँग हार्दिक आह्वान गर्दछु ।

धन्यवाद ।

मितिः २०७५ साल असोज १५ गते सोमबार ।