गौरा पर्वको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

नेपालको सुदूरपश्‍चिम तथा मध्यपश्‍चिम क्षेत्रमा मनाइने  धार्मिक सांस्कृतिक महत्वको रुपमा रहेको गौरा पर्वको शुभ अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् सवै नेपालीबीच धार्मिक सहिष्णुता, सद्‍भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सदियौँदेखि मनाईदै आएको यो पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको छ र यसले आफ्नो मौलिकता राख्‍न समेत सफल भएको छ । हाम्रा लोक परम्परा एवम् सांस्कृतिक पर्वहरुले सबै नेपालीहरुबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्‍भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई यसबाट राष्ट्रिय एकता सुदृढ हुँदै आएको छ । यस परिप्रेक्ष्यमा यस गौरा पर्वले पनि राष्ट्रिय एकता र सद्‍भाव वढाउने कुरामा म विश्वस्त छु ।

 

धन्यवाद !

मिति २०७४ भदौ १३ गते मंगलबार ।