गणतन्त्र दिवस, २०७४ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

आज जेठ १५, दशौँ गणतन्त्र दिवस । लोकतन्त्रको स्थापनाका लागि पटक-पटक भएका आन्दोलन तथा विभिन्न आरोह-अवरोह पार गर्दै गणतन्त्रसम्म आइपुगेको पनि आज नवौँ वर्ष पूरा भएको छ ।दशौँगणतन्त्र दिवसको पावन अवसरमा हाम्रा सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना प्रकट गर्दछु । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।

सार्वभौमसत्ता पूर्ण रुपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने संसारकै लोकप्रिय तथा सुन्दर पद्धतिको रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रुपमा मात्र नभै जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन जरुरी छ ।

नयाँ संविधानमार्फत लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासनप्रणाली स्थापित तथा संस्थागत गरिसकेपछि अब लोकतान्त्रिक सोच, संस्कार, व्यवहार र कार्यशैलीमार्फत मुलुकको आर्थिक सामाजिक समृद्धिको यात्रा प्रारम्भ गरि आमजनतालाई राजनीतिक स्वतन्त्रता र अधिकारसँगै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसमेत प्रत्याभूत गर्नुपर्ने बेला भएको छ । हालै मुलुकमा स्थानीय तहको पहिलो चरणको निर्वाचनआम जनताको उत्साहपूर्ण सहभागितामा सफलतापूर्वक सम्पन्न भई दोस्रो चरणको निर्वाचन प्रकृयामा हामी छौं । सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्रको जगलाई मजबुत र संस्थागत गर्न मद्दत पुर्‍याएको छ र अब हुन गईरहेको निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने मैले विश्‍वास लिएको छु ।नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिंदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएपछि सुशासन, द्रुततर आर्थिक सामाजिक विकास लगायत सबै क्षेत्रमा सुन्दर, समृद्ध र नयाँ हुन्छ भन्ने आम नेपालीको अपेक्षा तथा वीर अमर शहीदका सपना साकार पार्नु हामी सबैको सामूहिक दायित्व र कर्तव्य बनेको छ।यसका लागि हिजो संघर्षका दिनमा जस्तै हामी सबैबीच एकता, सहकार्य र सहमति हुनु आवश्यक छ ।

विगतको इतिहासको समीक्षा गर्दै त्यसबाट प्राप्त शिक्षा तथा अनुभवबाट निर्देशित हुँदै मुलुकलाई चौतर्फी रुपमा समृद्धिको बाटोमा हिंडाउन सकियोस्, सबै नेपालीहरुको हक-अधिकार सुनिश्चित तथा सुरक्षित गर्दै आम नेपालीको जीवन सुरक्षित, संरक्षित, मर्यादित र व्यवस्थित बनाउन सकियोस् अनि लोकतान्त्रिक गणतन्त्रको अधिकतम् लाभ लिन सकियोस् भन्ने शुभेच्छासहित पुनः गणतन्त्र दिवस, २०७४ का अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना प्रकट गर्दछु ।

धन्यवाद !

२०७४ साल जेठ १५ गते सोमबार ।