क्रिसमस डेको अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

ईसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपालीहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

नेपाल वहुभाषिक, वहुजातिय, वहुसांस्कृतिक, वहुधार्मिक विशेषताले भरिएको देश हो । यहाँ मनाइने हरेक चाड पर्वहरु राष्ट्रिय धरोहरका रुपमा रहेका छन् र यी चाडपर्वहरुले विभिन्‍न जातजाति, धर्म, भाषा र संस्कृतिबीच राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन् भन्‍ने मलाई लाग्छ । नेपालीहरुबीच मनाइने यस्ता चाड पर्व, भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने कार्यमा हामी सबै केन्द्रित हुनुपर्छ भन्‍ने मलाइ लागेको छ ।

भर्खरै सम्पन्‍न पहिलो प्रदेश तथा प्रतिनिधि सभाको ऐतिहासिक चुनावमा आम नेपाली मतदाताहरुबाट भएको अभूतपूर्व सहभागिताले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने र यसबाट देशलाई राजनैतिक स्थायित्व प्राप्त हुने विश्‍वास मैले लिएको छु । आगामी दिनमा हुने नेपालको विकास र समृद्धिमा सबै नेपालीले आ-आफ्नो स्थानबाट सक्दो योगदान गर्न सकेमा नेपालको चौतर्फि प्रगति छिटो हुनेछ भन्‍ने विश्‍वास लिदै इसाइ धर्मालम्वीहरुको यस पर्वले सबै नेपालीबीच वन्धुत्व, प्रेम र एकताको भावना वढाइ शान्त समुन्‍नत नेपाल बनाउन सबैमा प्रेरणा मिलोस् भन्‍ने कामना गर्दछु ।

धन्यवाद !

मिति २०७४ साल पौष १० गते सोमबार ।