सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले श्रीकृष्ण जन्माष्टमी पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमी पर्व, २०८१ को शुभकामना सन्देश

भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व,२०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

आज विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा-अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व धुमधामका साथ मनाउने गर्दछन् । द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहिआएको छ । गीताको माध्यमबाट सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्‌भाव कायम गर्न उत्प्रेरित गरिएको गीता ज्ञानले समाजलाई सहि दिशा दिन योगदान दिएको छ ।

यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्‌भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पुर्‍याउने अपेक्षा लिएको छु ।

अन्त्यमा, श्रीकृष्ण जन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीहरूमा आपसी सद्‌भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८१ भदौ १० गते सोमबार ।

ने.सं. ११४४ गुँलागा ७ सोमबार ।