सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गौरा पर्व, २०८१ को अवसरमा दिनु भएको शुभकामना सन्देश

गौरा पर्व, २०८१ को शुभकामना सन्देश

गौरा पर्व, २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्‍भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।  यस पर्वमा शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ  जसको फलस्वरूप  शिव र पार्वती तथा ईष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । साथै, पाँच प्रकारका अन्नबाट बनेको “बिरुँडा”  अर्पण गरी प्रसादको रुपमा ग्रहण गरेर यो पर्व  मनाउने  गरिन्छ ।

यस पर्वको अवसरमा स्थानीयहरू गोलबद्ध भई लोक भाषामा  देउडा, धमारी र चैत आदिका माध्यमबाट एक अर्काका दु:ख, सुख बाड्ने गर्दछन्  । साथै, यस पर्वले बिछोडिएका जोडीहरूको मिलन हुने, आपसी भाइचाराको सम्बन्धमा वृद्धि हुने र  पति-पत्नी बीचको सम्बन्ध अझ प्रगाढ हुने  विश्वास रहेकोले यसलाई    धुमधामपूर्वक मनाउने प्रचलन रहिआएको छ । हाम्रो समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यवद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएका छन् भन्ने मलाई लाग्दछ ।

अन्त्यमा, यस साँस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीहरूमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना  गर्दछु ।

जय नेपाल !

२०८१ भदौ १० गते सोमबार ।

ने.सं. ११४४ गुँलागा ७ सोमबार ।