सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले उभौली पर्वको पावन अवसरमा दिनुभएको शुभकामना सन्देश

उभौली पर्व, २०८१ को शुभकामना सन्देश

किराँत समुदायको महान् पर्व उभौलीको शुभ अवसरमा  स्वदेश तथा विदेशमा रहनु भएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जाडो यामको अन्त्य र गर्मी यामको सुरुवातसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई  उभौली पर्वको रूपमा मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गर्नुका साथै विभिन्न परम्परागत नृत्य गर्दै र मीठा-मीठा परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ ।

किराँत समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूले यो पर्वलाई भव्यरूपमा मनाउने गर्दछन् । यस प्रकारको साँस्कृतिक पर्वले देशको साँस्कृतिक विविधतालाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्‍भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्‍याउँछ भन्ने विश्वास लिएको छु ।

अन्त्यमा, उभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक साँस्कृतिक ऐक्यवद्धतालाई  थप सुदृढ गर्दै समृद्ध, समतामूलक ,सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

जय नेपाल ।

२०८१ साल जेठ १० गते बिहीबार ।