सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले जितिया पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

जितिया पर्व, २०८१ को शुभकामना सन्देश

जितिया पर्व, २०८१ को सुखद् अवसरमा  सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेशी समुदायका महिलाहरूद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवम् पारिवारिक सुख-शान्तिका लागि भगवान जिमुतवाहनको पूजा आराधना गर्दै  उत्साहका साथ  मनाइने पर्व हो ।  यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारु तथा मधेशी महिलाहरू कठोर उपवास बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन  र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकारहरू बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा यस्ता मौलिक चाड पर्वहरूले बेग्लै पहिचान स्थापित गर्दै आएको छ । जितिया पर्व जस्ता मौलिक चाडपर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्‌भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको मैले महसुस गरेको छु ।

नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सृजना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक देखिन्छ ।

अन्त्यमा, प्रकृति पूजामा आधारित यस पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्‍भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८१असोज ९ गते बुधबार ।

ने.सं. ११४४ ञलागा ८ बुधबार ।