सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय बाल दिवस, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय बाल दिवस, २०८१ को शुभकामना सन्देश

 राष्ट्रिय बाल दिवस, २०८१ को अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई  एवम् शुभकामना व्यक्त गर्दछु ।

हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस धुमधामका साथ मनाइदैँ आइएको छ । यसै अनुरूप यस वर्ष ” बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ मनाउन लागिएको छ । बालबालिकाको लागि लगानी भनेको उनीहरूको पालनपोषण, शिक्षा दीक्षा, संरक्षण एवम् विकासका लागि गरिने लगानी हो ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको  रूपमा सुनिश्चित गरेको छ । संविधानले गरेको मार्गदर्शन बमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका सम्बन्धी नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छन् । बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहलगायत सम्पूर्ण सरकारी/ गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकिकृत र समन्वयात्मक भूमिकाको अहम् दायित्व हुन आएको छ ।

अझै पनि केही बालबालिकाहरू आफ्नो बालअधिकारबाट वंचित भएको कुरा सुन्नमा आएको छ । तसर्थ, विभिन्न  कारणहरूले  बालबालिकामा पर्ने गम्भीर तथा बढ्दो असरतर्फ सबैको ध्यान आकृष्ट हुनु जरूरी छ । बालबालिका माथि हुने हिंसा तथा दुर्व्यवहार रोक्नु सरकारको दायित्व पनि हो । बालबालिकाको भविष्य सुनिश्‍चित गर्न सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, बाल अधिकारकर्मी, सामाजिक संघसंस्था, निजी क्षेत्र, नागरिक समाज तथा अभिभावकहरूले निर्वाह गर्दै आइरहनु भएको भूमिकाका लागि धन्यवाद दिन चाहन्छु ।

अन्त्यमा, बालबालिकाको संरक्षण र विकासमा आ-आफ्नो तर्फबाट भूमिका निभाउन म सम्वद्ध सबै पक्षको ध्यान आकृष्ट  गर्दै पुनः राष्ट्रिय बाल दिवस, २०८१ को शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !

२०८१, भदौ २९ गते शनिबार ।

ने.सं. ११४४ ञलाथ्व ११ शनिबार ।