सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले हरितालिका (तीज), २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

हरितालिका (तीज), २०८१ को शुभकामना सन्देश

नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका (तीज), २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवम् पारिवारिक सद्भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बी महिलाहरूले भाद्र शुक्ल द्वितीयादेखि पञ्‍चमीसम्म मनाउने यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ । यस पर्वमा नेपाली नारीहरूले आफ्नो अटल सौभाग्य तथा समृद्धिका लागि भगवान् शिव र पार्वतीको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहेको छ । परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा यस चाड मनाउँदै आइरहेको मैले महसुस गरेको छु ।

समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्‌भाव कायम गर्न यस पर्वले महत्त्वपूर्ण भूमिका निभाएको छ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव‚ हिंसा एवम् सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले  सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु ।

समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्दछन् । आदर्शमय सामाजिक वातावरण जीवन्त राख्‍न, सदाचार युक्त जीवन शैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न  यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाई राख्‍नु अति आवश्यक रहेको छ । साथै, यस पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने गरेको भड्‌किलोपन र खर्चिलोपनलाई न्यून गर्दै विकृति र विसंगतिलाई हटाउँदै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न पनि आवश्यक देखिन्छ ।

अन्त्यमा, हरितालिका (तीज), २०८१ पर्वले हामी सबैमा खुसी र मनोरञ्‍जन साटासाट गर्दै, देशका हरेक सार्वजनिक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्त बनाउँदै सामाजिक सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भन्‍ने शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !

२०८१ भदौ २१गते शुक्रबार ।

ने.सं. ११४४ ञलाथ्व ३ शुक्रबार ।