सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्तीको अवसरमा दिनुभएको सन्देश

आदिकवि भानुभक्त आचार्यको २११ औं  जन्म जयन्तीको सन्देश

आदिकवि भानुभक्त आचार्यको २११ औं  जन्म जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रुपमा तनहुँ जिल्लाको चुँदी रम्घामा वि. सं. १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन स्वदेश तथा विदेशमा रहनुभएका नेपाली भाषा, साहित्य र संस्कृति प्रेमीहरूद्वारा विविध कार्यक्रमहरू आयोजना गरी भानु जयन्ती मनाउने गरिन्छ । भानुभक्तले नेपाली भाषालाई काव्य भाषाका रूपमा समुन्नत तुल्याइ नेपाली भाषा, साहित्य एवम् संस्कृतिको सम्वर्द्धनका निम्ति अतुलनीय योगदान पुर्‍याएका थिए । उनलाई नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा पनि चिनिन्छ ।

आदिकवि भानुभक्त आचार्यले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको वाल्मीकि रामायण सबै नेपालीको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्वपूर्ण भूमिका निभाएको छ । साथै भानुभक्तीय रामायण नेपालका विभिन्न जातजातिलाई एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण रचना हो । नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको संवर्द्धनमा टेवा पुग्ने हुँदा सबै भाषाभाषी समुदायबीच सिर्जनाको महत्व बुझेर आ-आफ्नो भाषाको संरक्षण र  संवर्द्धनका निम्ति समर्पित हुन आव्हान गर्दछु ।

भानुभक्तको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्न सकेमा नै उहाँप्रति हाम्रो सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने मलाई लाग्दछ । साथै, भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको तथ्यलाई पनि हामी सबैले मनन गर्नुपर्दछ ।

अन्त्यमा, आदिकवि भानुभक्त आचार्यलाई स्मरण गर्दै जन्मजयन्तीको यस अवसरले सबै नेपालीहरू बीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै  नेपालभित्रका सबै जातजाति, भाषाभाषी, साहित्य र संस्कृतिप्रतिको प्रेम, सम्मान एवम् संरक्षण गर्न हामी सबैलाई प्रेरणा मिलोस्  भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८१ असार २९ गते शनिबार ।