सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले छैठौं राष्ट्रिय महिला अधिकार दिवस, २०८१ को अवसरमा दिनु भएको शुभकामना सन्देश

छैठौं राष्ट्रिय महिला अधिकार दिवस, २०८१ को शुभकामना सन्देश

हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान” भन्ने नाराका साथ मनाउन लागिएको छैठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा महिलाको हक, अधिकार सुनिश्‍चित गर्न योगदान गर्नुहुने सम्पूर्ण अग्रजहरूलाई स्मरण गर्दै धन्यवाद दिन चाहन्छु ।

वि.सं. २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनको स्मरण स्वरूप जेठ १६ गतेलाई हामीले राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउँदै आएका छौं । महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरूलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप उर्जा प्रदान गर्ने विश्वास लिएको छु ।

महिलाको क्षमता, श्रम, सीप र सिर्जनालाई विकास प्रक्रियामा लगाई आत्मनिर्भर बनाउन स्रोत, साधन र अवसरमा समान पहुँच स्थापित गर्न एवं निर्णय प्रकियामा सहभागिता अभिवृद्धि गर्न तथा आर्थिक सशक्तीकरणका माध्यमबाट महिलाको आर्थिक समृद्धि प्राप्त गर्न सरकारका नीति तथा कार्यक्रम अगाडि बढिरहेका छन् । साथै, महिलाको राजनीतिक, सामाजिक, न्यायिक पहुँचलगायतका क्षेत्रमा समान, अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउन राज्यको सहयोगको साथसाथै हामी सबैको सामूहिक प्रयास हुनु जरूरी रहेको छ ।

विभिन्न नीतिगत र कार्यगत प्रयासहरू हुँदाहुँदै पनि महिलाहरू सामाजिक‚ सांस्कृतिक‚ शैक्षिक‚ राजनीतिक एवं आर्थिक रूपमा पछाडि परेका छन् । कार्यस्थल, शैक्षिक संस्थान, सार्वजनिक स्थान तथा घर समाजमा नै महिलाहरू पूर्ण रूपमा सुरक्षित नभई महिला तथा बालबालिकामाथि हुने हिंसाजन्य घटनाहरू हुनु आफैमा अत्यन्त दुखद् कुरा हो । यस्ता क्रियाकलापहरूको निराकरणको निम्ति राज्यका सम्पूर्ण संयन्त्रहरूले यस विषयलाई मुख्य प्राथमिकताका साथ लिनु पर्दछ भन्ने लाग्दछ ।

अन्त्यमा, यस दिवसबाट सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाहरूको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !

२०८१ साल जेठ १६ गते, बुधबार ।