सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गणतन्त्र दिवस, २०८१ को अवसरमा दिनुभएको सन्देश

गणतन्त्र दिवस, २०८१ को शुभकामना सन्देश

स्वदेश तथा विदेशमा रहनुहुने आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !

सर्वप्रथम १७ औँ गणतन्त्र दिवसका उपलक्ष्यमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना र बधाई दिन चाहन्छु। यो नेपाल र नेपालीका लागि ऐतिहासिक र गौरवमय दिन हो। १७ वर्षअघि आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौँ। यही दिनबाट नेपाली नागरिकले सर्वोच्चता प्राप्त गरेका थियौँ र एउटा उदार, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएका थियौँ। यो ऐतिहासिक दिनमा म गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्नुहुने आदरणीय सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। यहाँसम्म आइपुग्न ठूलो त्याग र बलिदान गर्ने अग्रज नेताहरूप्रति सम्मान गर्न चाहन्छु। साथै, लोकतान्त्रिक आन्दोलनका लागि जेल, नेल र यातना सहने नेपाली दाजुभाइ तथा दिदीबहिनी, परिवर्तनका सारथी नागरिक र राजनीतिक दल सबैलाई अभिनन्दन गर्न चाहन्छु।

म यति बेला गणतन्त्र घोषणा भएको त्यो गौरवमय क्षण सम्झिरहेको छु। त्यो क्षण हामीले सहिदहरूलाई सम्झिएर भनेका थियौँ अब सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चित हुनेछ। त्यो दिन हामीले भनेका थियौँ हाम्रो देशको झण्डा अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतीक चिह्न बनेर विश्व समुदायमा गर्वका साथ फहराउनेछ।त्यति बेला हाम्रो मातृभूमि धन्यधन्य भएको थियो।

यसको अर्थ, अहिले हामी कुनै एक दिनलाई गणतन्त्र दिवस भनेर केवल औपचारिक उत्सव मनाइरहेका छैनौँ। त्यो ऐतिहासिक क्षणलाई सम्झिरहेका छौँ र सङ्कल्प गरिरहेका छौँ हामी त्यो क्षण कहिल्यै बिर्सने छैनौँ, जुन दिन गौरवपूर्ण परिवर्तनको ओज र उज्यालोमा हामी प्रज्वलित भएका थियौँ। त्यही क्षण हामीले सम्पूर्ण नागरिक जीवनलाई लोकतान्त्रिक संस्कृतिको आलोकमा समुन्नत र अधिकारसम्पन्न बनाउने तथा नागरिकलाई खुसी दिने सङ्कल्प गरेका थियौँ। जुन सङ्कल्पको अर्थ, ओज र गरिमालाई हामीले भुलेका छैनौँ। हाम्रो त्यो सङ्कल्पलाई पूरा गर्न आजको दिनले अझ धेरै प्रतिवद्ध बनाउनेछ भन्ने मैले विश्वास लिएको छु।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ। यसले हामीलाई समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर दिएको छ। राज्य र राष्ट्रनिर्माणको अभिभारा दिएको छ।

सँगैसँगै यतिबेला हामीले जनताको हित र कल्याणसँग जोडिएका केही अहम् प्रश्नहरूमा सोच्नैपर्ने हुन्छ भन्ने मलाई लाग्छ। के हामीले प्राप्त गणतन्त्रलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गरेका छौँ? हाम्रा कामले गणतन्त्रले परिलक्षित गरेको उद्देश्यमा कँही बाधा उत्पन्न भइरहेको छ कि? किन प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्न हामीलाई अझै कठिन भइरहेको छ? हामीले अब यी प्रश्नहरूलाई पन्छाएर धर पाउने छैनौँ।

आज गणतन्त्रले खोजेको सबैभन्दा ठूलो विषय जनताको जीवनस्तर माथि उठाउने हो। त्यसका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्धन एवम् सुशासन हो। जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुसी र उज्यालो पुग्दैन, त्यो बेलासम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पूरा हुँदैन। यस अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ। म आशा गर्छु, हामी यो दायित्वलाई बिर्सने छैनौँ। किनभने यो दायित्व पूरा नगरी हामी स्वाधीनता र समृद्धिको लक्ष्य कसैगरी हासिल गर्न सक्दैनौँ।

गणतन्त्र दिवस विगतलाई सम्झने, वर्तमानलाई सजाउने र भविष्यका बारेमा चिन्तन गर्ने दिन पनि हो। हामीले आजको पुस्तालाई बलियो अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गर्नुछ। साथसाथै, आउने पुस्तालाई सबल, एकताबद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम् लोकतान्त्रिक संस्कृति दिने सङ्कल्प पनि आजैबाट गर्नुपर्छ।

नागरिकका आमसमस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्य त गर्नुनै छ, साथै विश्वमञ्चमा हाम्रो प्रतिष्ठालाई पनि उँचो बनाउनुछ। हामीले हाम्रो मौलिक पहिचानको प्रवर्धन त गर्नु नै छ, साथै एक समृद्ध र आत्मगौरवसहितको देशको पहिचान पनि सुनिश्चित गर्नुछ। जसले गर्दा हाम्रो सरकार, नागरिक र माटोको सम्बन्ध बलियो बनोस् र हामी विकासको नयाँ उचाइ प्राप्त गर्न सकौँ। यसबाट हाम्रा सन्ततिहरूले भविष्यमा हामीमाथि गर्व गरून्।

आजको दिनले हामी सबैलाई यतैतिर प्रवृत्त गरोस्, यही शुभकामना।

जय नेपाल !

२०८१ साल जेठ १५ गते मङ्‌गलबार।