सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को शुभकामना सन्देश

३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, दीर्घायु एवम् सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ को रुपमा मनाउने प्रस्ताव पारित गरेपश्चात विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रुपमा मनाउने गरिएको छ। संयुक्त राष्ट्र संघले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि ” Fulfilling the promises of the universal declaration of human rights for older person : Across Generations” भन्ने नारा सहित विश्वभर यो दिवस मनाइदैछ ।

आजको यस दिवसको अवसरमा नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकारहरू, स्थानीयतहहरू र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ तथा विभिन्न संघ संस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र सम्वर्द्धनको लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस धुमधामका साथ मनाउन लागेको जानकारी पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।

ज्येष्ठ नागरिक ज्ञान, सिप र अनुभवका लागि प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँहरूको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्न सक्दछन् । उहाँहरूको ज्ञान, सिप र अनुभवलाई अन्तर पुस्तान्तरण गरी अत्यधिक उपयोग गर्न सके देशको आर्थिक समृद्धि प्राप्त गर्न तथा सामाजिक सह्दयता कायम गर्न ठूलो सहयोग  मिल्नेछ भन्ने मलाई लाग्दछ। साथै, देशका युवाशक्ति अध्ययन र रोजगारीका लागि विदेशिएका र घर-घरमा ज्येष्ठ नागरिक मात्र बाँकी रहेको तीतो सत्य हामी कोहीबाट लुकेको छैन ।तसर्थ, ज्येष्ठ नागरिकहरूकोअधिकारको संरक्षण,  हित र कल्याणको लागि अब राज्य स्तरबाट नै सोच्ने बेला भइसकेको छ ।

अन्तमा, माया, ममता र करुणाका पुञ्ज रहेका ज्येष्ठ नागरिकहरूको संरक्षकत्व प्राप्त गरी बाजे बज्यैदेखि नातिनातिनासम्म सगोल परिवारमा रहने हाम्रो पूर्वीय दर्शनमा आधारित आदर्श परिवारको महत्त्व बुझ्न र बुझाउन आजको दिनले सम्वद्ध सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा सहित पुनः ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैमा हार्दिक आव्हान गर्दछु ।

जय नेपाल  ।

२०८० असोज १४ गते आइतबार ।